बिर्तामोड , भदौ ६ । बिर्तामोडका शैक्षिक संस्थाहरुमा गैरकानुनी ढंगले उठाइरहेको चन्दाको विरोध गर्दा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्वाही गर्ने धम्की दिएको छ ।

विभिन्न संगठनहरुले जवर्जस्ती उठाइरहेको चन्दाप्रति ध्यानाकर्षण गराउँदै मानव अधिकार संजाल झापाले हिजो प्रेस विज्ञप्ति जारी गरेको थियो भने सो विज्ञप्ति र चन्दा आतंकका विषयमा बिर्तामोडका संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए । नेकपाले प्रेस विज्ञप्ति जारी गर्ने संजालका अध्यक्ष डा. रुपकप्रसाद खनाल र समाचार प्रकाशन गर्ने पत्रकारहरुलाई कार्वाही गर्ने धम्की दिएको हो ।

नेकपाको भ्रातृ संगठन अखिल नेपाल विद्यार्थी युनियन समाजवादीका झापा इन्चार्ज विनोद सीले विज्ञप्ति जारी गरी निकृष्ट र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आफ्नो पार्टी र आन्दोलनको विरुद्धमा जाने हो भने त्यसको परिणाम भोग्न तयार रहन चेतावनी दिएका छन् । उनको विज्ञप्तिमा भनिएको छ ,‘हामीलाई कथित मानव अधिकारकर्मी दलाल माफियाको नुन खाएका पत्रकारहरुको हर्कतको कुनै पर्वाह छैन। हामी खुल्ला छलफल र खुल्ला संघर्षको निम्ति सँधै तयार छौं। यस्ता हर्कत हाम्रो पार्टी र आन्दोलनको विरुद्धमा गर्दै जाने हो भने त्यसको परिणाम भोग्न तयार रहन चेतावनी दिन चाहन्छौं।’

त्योसंगै सोही नेपाल कम्युनिष्ट पार्टीका झापा सचिव संजय सीले मानव अधिकारकर्मी डा. खनालको नामै तोकेर चेतावनीसहितको अर्को विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी डा. रुपक खनाललाई गंभीर चेतावनी दिन चाहन्छौं। हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जो अहिलेसम्म निरन्तर देश जनता क्रान्तिको निम्ति संघर्षशील छ । र, यो लक्ष्य प्राप्ति नहोउन्जेल निरन्तर अगाडि बढ्ने छ । हाम्रो यस्तो पार्टीबिरुद्ध भ्रम पैदा गराउने, षड्यन्त्र गर्ने, युवा बिद्यार्थीको अभियान रोक्ने, कारबाहीको माग गर्नेजस्ता लज्जास्पद हर्कत तुरुन्त रोकेर माफी माग्न चेतावनी दिन चाहन्छौं । अन्यथा अधिकारकर्मीको कथित आवरण उतारेर असली अनुहार जनतामा देखाइदिने चेतावनी दिन चाहन्छौं ।’

आफूलाई दिएको धम्कीका बारेमा प्रहरी प्रशासनलाई जानकारी गराइसकेको डा. खनालले जानकारी दिएका छन् । उनले गणतान्त्रिक भन्ने पार्टीले पुरानै शैलीमा चन्दा चिठ्ठा उठाउनु बाञ्छनीय नभएको भन्दै त्यस्ता क्रियाकलापको सबैले विरोध गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी , नेपाल कम्युनिष्ट पार्टी बहुमत , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाललगायतका संगठनहरुले बिर्तामोडका शैक्षिक संसथाहरुमा चन्दाका लागि पत्र पठाएका छन् । गोमेन्द्र , निदि , आदर्शलगायत बिर्तामोडका प्रायः सबै निजी तथा सामुदायिक शैक्षिक संस्थाहरुमा ती संगठनहरुले चन्दाका लागि पत्र पठाएको संचालकहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्