बिर्तामोड, भदौ ७ । बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ सगरमाथा टोल बस्ने ६१ वर्षीय प्रसाईले बिर्तामोड–१ सिनेप्लाजा अगाडी नरेन्द्र मैनालीको घरमा गएर आज बिहान आत्महत्या गरेका हुन् । मैनाली काठमाडौमा लुकेर बस्दै आएका छन् । उनको तीनतले घरको दोस्रो तलाको कोठामा प्रसाई झुन्डिएको प्रहरीले बताएको छ ।सिलिङको पंखा झुन्ड्याउने हुकमा नाइलनको हरियो डोरीले घाँटीमा पासो लगाइ झुन्डिरहेको मृत अवस्थामा फेला पारी स्थानीयले दिउँसो १२ः२० बजे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएका थिए ।

उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाई र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाई केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए ।
सुरुमा जमिनको कारोबार गरेका उनी हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईभन्दा अगाडि भ्रष्टाचारविरोधी अभियान संचालन गरेका थिए । पछि दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए । उनले मैनालीको घरमै गएर झुन्डिनु पर्ने कारण खुलिसकेको छैन । यद्यपि व्यवहारिक कारण हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्