झापा,भदौ ७ । ऋण र हाइड्रोपावर कम्पनीमा लगानी गरी करिव ६ करोड रुपैयाँ डुबाएपछि त्यही पीरले बीएण्डसी हस्पिटलका संस्थापक महेन्द्र प्रसाईले नरेन्द्र मैनालीको घरमै गएर आत्महत्या गरेको खुलेको छ ।

मैनालीले प्रसाईसंग २ करोड रुपैयाँ ऋण लिएको र यूनिटेक हाइड्रोपावर कम्पनीमा करिव ४ करोड रुपैयाँ लगानी गर्न लगाएको बताइएको छ । प्रसाईको त्यति धेरै रकम डुबाएर मैनाली केही महिनादेखि फरार छन् । उनीमाथि प्रसाईले उजुरी दिएका थिए । तर, मैनालीलाई प्रहरीले फेला पार्न सकेको छैन । प्रसाईंसंगै बिर्तामोड र आसपासका अन्य व्यवसायीको समेत दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर फरार मैनाली काठमाडौमा लुकेर बसेको आशंका गरिएको छ । मैनालीसंगको लेनदेनकै कारण प्रसाईले उनकै घरमा झुन्डिएर आत्महत्या गरेको हुनसक्ने कुरा परिवारले बताएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए । उनले आत्महत्या गर्ने प्रसाईसंग सुसाइड नोट फेला नपरेको बताए ।

यूनिटेक हाइड्रोपावर कम्पनीद्वारा ताप्लेजुङको साविक फावाखोला, तिरिङ्गे र सिकैचा गाविसमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणाधीन रहेको छ । हाइड्रोपावरमा लगानी रहेका मैनालीसंगको व्यवहारकै कारण आफ्ना ठूलाबुवाले आत्महत्या गरेको बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले बताए ।

प्रसाईको मृत्यु भएसंगै मैनालीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को जाहेरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रसाईका छोरा अर्जुनले मैनालीविरुद्ध जाहेरी दर्ता गरेको डीएसपी विष्टले जानकारी दिए ।

बिर्तामोड ५ सगरमाथा टोल बस्ने ६१ वर्षीय प्रसाईले बिर्तामोड–१ सिनेप्लाजा अगाडी मैनालीको घरमा गएर बिहान आत्महत्या गरेका हुन् । उनको तीनतले घरको दोस्रो तलाको कोठामा प्रसाई झुन्डिएको प्रहरीले बताएको छ ।सिलिङको पंखा झुन्ड्याउने हुकमा नाइलनको हरियो डोरीले घाँटीमा पासो लगाइ झुन्डिरहेको मृत अवस्थामा फेला पारी स्थानीयले दिउँसो १२ः२० बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए ।

दुर्गा प्रसाईका दाजु प्रसाई लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाई र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाई केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए ।

सुरुमा जमिनको कारोबार गरेका उनी हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईभन्दा अगाडि भ्रष्टाचारविरोधी अभियान संचालन गरेका थिए । पछि दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्