भद्रपुर, भदौ ७ । झापा जिल्ला अदालतमा दुई बर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको सरूवा भएपछि उनको ठाउँमा उमेशप्रसाद लुइटेल आएका छन् ।


जिल्ला अदालत झापाद्वारा आयोजित कार्यक्रममा प्रमुख न्यायाधीशको कार्यभार सम्हाल्न आएका लुइटेललाई अदालतका न्यायाधीश र कर्मचारीहरुले स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा न्यायाधीशहरु प्रकाशकुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंहलगायत अदालतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख न्यायाधीश लुइटेलले अदालती कामकारवाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न अदालतबाट प्रवाह गरिने सेवामा अझ सुधार गरी पारदर्शी, छिटोछरितो, सरल एवं जनमैत्री सेवाप्रवाह गर्ने बताए ।

उनले अदालतप्रति जनताको जनविश्वास बढाउने अदालतको लक्ष्य रहेको स्पष्ट पारे । न्याय सम्पादनलाई अझ प्रभावकारी बनाउन कर्मचारी वर्गले उत्कृष्ट नतिजामुखी काम गर्न आवश्यक रहेको न्यायाधीश तेजबहादुर खड्काले बताए । त्यसैगरी, मुद्दाको संख्या बढ्दै गएपनि अदालतको पूर्वाधार र जनशक्ति अभावका बाबजुद गुनासो नआउने गरी काम गरिने अदालतका श्रेस्तेदार सिंहले बताए । कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गरेका थिए ।

झापा जिल्ला अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल ७ जना न्यायाधीश रहेका छन् ।सामान्यतया २÷२ बर्षमा न्यायाधीशको सरुवा हुने गरेको छ । सरुवा भएर आएका अर्का न्यायाधीश महेन्द्रप्रसाद पोखरेल समेतलाई सोही कार्यक्रममा स्वागत गरिएको अदालत प्रशासनले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्