दमक, भदौ ८ ।दमक नगरपालिकाले सञ्चालन गरेको दमक नगर अस्पतालका लागि संघीय सरकारबाट लाखौं रुपैयाँका बिभिन्न स्वास्थ्य सामग्रीहरु प्राप्त भएको छ ।

नगर उपप्रमुख रेगिना भट्टराईको बिशेष पहलमा संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट प्राप्त सामग्रीहरु आज दमक आइपुगेको छ । नगर उपप्रमुख भट्टराई हाल काठमाण्डौमै रहेर दमकका सामुदायिक विद्यालय तथा अस्पतालका लागि आवश्यक सहयोग माग गरिरहेकी छन् ।सोही क्रममा दमक अस्पतालका लागि स्वास्थ्य मन्त्रालयसंग माग गरिएका सामग्रीहरु दमक आइपुगेको हो । अस्पतालको सेवा थप गर्नेगरी सामानहरु आएको उपप्रमुख भट्टराईले बताइन् ।

६ सेट डायलोसिस मेसिनसमेत स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएकोमा मापदण्ड अनुसार दमक अस्पताल ५० बेडको नहुँदा उक्त मेसिन ल्याउन नसकिएको उनले बताइन् । डायलोसिस मेसिन ल्याउन सकेको भए ठुलो उपलब्धि हुने भएपनि सरकारी मापदण्डमा नपर्दा ल्याउन नसकिएको उनले बताइन् । ।

आज आएका सामानहरुमा १० वटा बेड, भिडियो एक्स–रे मेसिन एउटा, डेलिभरी बेड एउटा, पोष्टमार्टम सेट एउटा, सक्सन मेसिन १ सेट, ईसिजी थ्री डिजिटको १ सेट, इएनटी अपे्रसन १ सेट, सिटिजी कार्डियोग्राफी मेसिन १ सेटलगायत रहेको अस्पतालका स्टोर प्रमुख श्याम राजवंशीले जानकारी दिए । करिब ३० लाख रुपैयाँ पर्ने सामानहरु प्राप्त भएको उनले बताए ।

अस्पताललाई आवश्यक सामानहरु आइपुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण शाहले बताए । प्राप्त सामग्रीबाट अस्पतालको सेवालाई थप प्रभाबकारी बनाउने भन्दै उनले यसले नगरबासीको स्वास्थ्य उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्