झापा , भदौ ९ । गएराति झापाको गौरीगञ्ज गाउँपालिका ५ को चिल्हारा बजारमा आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ ।

स्थानीय ४० वर्षीय सनपलाल हरिजनले गाईवस्तुका लागि बालेको घुरबाट सल्किएको आगोले नजिकै रहेका घर जलेका हुन् । मध्यरातमा सनपलालको टिनको छानो र बाँसको टाटी भएको एकतले घरमा आगलागी हुँदा बाख्रा , अन्नपात , भाडावर्तन, नगद ५५ हजार गरी करिव ५ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय शुक्र हरिजनको टिनको छाना र बाँसको टाटी भएको एकतले घरको पश्चिम भाग आधा जलेको छ । उनको अन्नपात लत्ताकपडा गरी अन्दाजी २ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

आगलागी भइरहेको भनी स्थानीयले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराउनसाथ प्रहरी निरीक्षक रामचन्द्र शाहको नेतृत्वमा प्रहरी टोली खटिएर स्थानीय, प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा राति १.३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्