झापा, भदौ ९ । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर २ जानको मृत्यु भएको छ । पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन् । 

पहिरोमा परेर मृत्यु भएका २ जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । मृत्यु हुनेमा एक जना बालक रहेका छन् ।

पहिरोले ४ वटा घर बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको सिंहले बताए ।

पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको छ । प्रहरी टोली लेकखर्कतर्फ हिँडिसकेको डीएसपी सिंहले बताए ।

घर बगाएको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ। मन्थलीबाट गएको टोली पुल बगाएकाले घटनास्थलमा पुग्न सकेको छैन। दोरम्बाबाट हिँडेको टोली केही समयमै घटनास्थलमा पुग्ने प्रहरी कार्यालयले जानकारी दिएको छ।

यता दोरम्बा–शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले पनि ४ वटा घर बगाएको र केहि बेपत्ता भएको जानकारी आएकाले घटनास्थलतर्फ आफू जाँदै गरेको जानकारी दिए। उनले भने,‘गएराति आएको पहिरोले ४ वटा घर बगाएको र केहि मानिस बेपत्ता भएको जानकारी मलाई प्राप्त भएको छ। पहिरोले पुल पनि बगाएको छ। हामी पनि घटनास्थलतर्फ जाँदैछौं । के–के भएको हो आधिकारिक विवरण पुगेपछि प्राप्त हुन्छ।’पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्