झापा , भदौ ९ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेकखर्क पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ रहेका छन् ।त्यस्तै चण्डिकाको घरबाट ११ वर्षीया अन्जना श्रेष्ठलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।कम्मरभन्दा मुनिको भाग नचल्ने उनलाई उपचारको लागि दोरम्बा स्वास्थ्य चौकीबाट चिकित्सक बोलाइएको छ ।

यस्तै ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, १४ वर्षीय विज्ञान पहरी र ११ वर्षीय सन्तोष पहरीको पनि शव फेला परेको छ । प्रहरीका अनुसार अझै ४ जना सम्पर्कविहीन रहेका छन् । ७५ वर्षीय फडके पहरी,५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया विन्दा पहरी सम्पर्कविहीन छन् । पहिरोले ५ वटा घर बगाएको छ । सम्पर्कविहीनहरूको खोजी भइरहेको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् ।

प्रजिअ निरौलाका अनुसार ३० घरधुरी रहेको लेकखर्क बस्ती नै पहिरोको जोखिममा रहेको छ । ‘हामी पहिरो गएको क्षेत्रमा गइरहेका छौँ,’उनले भनिन,‘३० घर थप जोखिममा परेका छन् । बेपत्ताको खोजी भइरहेको छ ।’ घटनास्थल पुगेपछि मात्र सबै विवरण खुल्ने उनको भनाइ छ ।

गएराति भीषण वर्षासँगै बाढी र पहिरोले उक्त क्षेत्रसँगको सडक सञ्जालसमेत टुटेको छ । स्थानीय खोलाहरूमा आएको बाढीले दुईवटा पक्की पुलमा समेत क्षति पुर्याएको छ । बाढीले ढाइगाउँ खोला, छाङ खोला तथा घट्टे खोलाको पक्की पुल बगाएको छ । बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्याएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्