झापा,भदौ ९ । सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागु गर्न लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले जलन भएका बिरामीको निःशुल्क उपचार गर्न लागेको जानकारी दिँदै सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको बताए । अर्थबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने उनले बताए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकता दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा हुने छ । प्रवक्ता डा. बुढाथोकीले त्यहाँ उपचार हुन नसकेका बिरामीलाई केन्द्रीय अस्पतालमा रिफर गरिने बताए ।
उनका अनुसार जलन उपचारको प्रयोजनका लागि सरकारी अस्पताललाई प्राथमिक र सेकेन्डरी तहमा छुट्याइने छ । प्राथमिक तहका अस्पतालका रूपमा जिल्ला अस्पताललाई मानिने छ । जलन भएका सामान्य सर्जरी गर्नुपर्ने बिरामीलाई जिल्ला तहमै उपचार गरिने छ भने धेरै जलन भएको अवस्थामा जिल्ला अस्पतालले केन्द्रीय तथा प्रादेशिक अस्पतालमा रिफर गर्ने छन् । ७७ वटै जिल्लामा प्राथमिक तह निर्धारण गरेर जलनका बिरामीको उपचार हुने छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जलन उपचारमा प्रादेशिक अस्पताल र केन्द्रीय अस्पताललाई सेकेन्डरी अस्पतालका रूपमा राखिएको छ । जिल्लामा उपचार हुन नसक्ने बिरामी प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर हुँदा पनि बिरामीको सम्पूर्ण उपचार निःशुल्क हुने छ ।

प्रवक्ता डा. बुढाथोकीले दोस्रो तहका अस्पतालमा उपचार हुन नसकेको अवस्थामा कीर्तिपुर अस्पतालमा रिफर गर्ने गरी कार्यविधि बनाइएको बताए । कीर्तिपुर अस्पतालमा भने सक्नेलाई केही प्रतिशत तिराएर र नसक्नेका लागि भने सम्पूर्ण उपचार निःशुल्क हुने व्यवस्था मिलाइने छ । निजी अस्पतालमा उपचारका लागि गएको हकमा भने जलनको निःशुल्क उपचार हुने छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा वार्षिक ७६ हजार जना जलनका बिरामी थपिने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्