बिर्तामोड,भदौ ९ । झापाको अर्जुनधारामा एक १६ वर्षीया नाबालिकालाई ७ जनाले सामूहिक बलात्कार गरेको बर्बर घटनाले सनसनी मच्चाएको छ ।

शुक्रबार राति अर्जुनधारा–५ की १६ वर्षीया नाबालिकामाथि ७ जनाले सामूहिक बलात्कार गरेका हुन् । बलात्कृत युवतीको बयानका आधारमा ६ जना पक्राउ परेका छन् भने एकजना फरार छन् । युवतीका अनुसार घटनामा संलग्नमध्ये चिनजानका दुईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए । अर्जुनधारा–७ स्थित लंका होटलमा खाजा खाएर उनीहरुले साँझपख एकछिन घुम्न जाउँ भन्दै युवतीलाई नयाँ बाख्राहट्टीतिर लिएर गए । त्यस एकान्त ठाउँमा चारजनाले पालैपालो उनीमाथि जवरजस्ती करणी गरे । उनले चारजनासँग प्रतिवाद गर्न सकिनन् ।

त्यसपछि ती युवतीलाई उनीहरुले लंका होटलमा ल्याएर छोडिदिए । जहाँ लंका होटलका कुक सुदिप श्रेष्ठ र सुजन डाँगी र सोही स्थानका संजिव तामाङले पनि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बाख्राहट्टीमा चार जना र त्यसपछि लंका होटलमा अरु तीनजनाले सामूहिक बलात्कार गरेको बयान युवतीले दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । पक्राउ परेकाहरुमाथि आज अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको उनले जानकारी दिए । प्रहरीले हिजो बिहानै घटनामा संलग्न चारजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अर्जुनधारा–७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजवंशी रहेका छन् । त्यस्तै दुईजनालाई हिजो साँझ र राति पक्राउ गरिएको डीएसपी विष्टले जानकारी दिए । पछि पक्राउ पर्नेहरुमा लंका होटलमा कुकको काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेका छन् । घटनामा संलग्न अर्जुनधाराकै संजिव तामाङ फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पीडितलाई शारीरिक परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । फरार संजिव तामाङको खोजतलास जारी रहेको जनाईएको छ ।

यसैबीच लंका होटल एण्ड रिसोर्टका संचालक गोपाल पोखरेलले केही संचारमाध्यमले नबुझीकन आफ्नो नाम उल्लेख गरेकोमा आपत्ति जनाएका छन् । उनले घटना भएका दिन आफू पोखरामा रहेको बताउँदै घटना भएको सुनिसकेपछि आफूले आफ्ना कर्मचारीलाई प्रहरी अनुसन्धानका लागि सहजीकरण गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्