लक्ष्मी उप्रेती,

मेचीनगर । काँकरभिट्टा नाका भएर नेपाली सिमेन्ट भारत निर्यात हुन थालेको छ । नेपाली सिमेन्ट उद्योगले उत्पादन गरेका विभिन्न ब्राण्डका सिमेन्ट भारततर्फ निर्यात सुरू भएको हो ।

काँकरभिट्टा नाका हुँदै गत आर्थिक वर्ष २०८०÷०८१ मा ३२ करोड रुपैयाँ मूल्य बराबरको सिमेन्ट निर्यात भएको हो । मेची भन्सार कार्यालय काँकरभिट्टा सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलका अनुसार यसअघि यो नाका भएर नेपाली सिमेन्टको निर्यात शून्य थियो । गत आर्थिक वर्ष २०८०÷०८१ मा ३२ करोड ६६ लाख पाँच हजार सात रुपैयाँ मूल्य बराबरको ४९ हजार नौ सय ५९ टन सिमेन्ट निर्यात भएको छ ।

नेपाली सिमेन्ट र क्लिंकरको बजार भारत मात्रै भएको सिमेन्ट उद्योगीहरुको भनाई छ । नेपाली उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण माग समेत सन्तोषजनक रहेको व्यवसायीहरुको भनाई छ । कुनै बेला नेपालले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था भएका कारण सिमेन्ट निर्यातले निरन्तरता पाउन नसकेको बताईएको छ । अहिले निर्यात बढ्नुको मुख्य कारण नेपालमै कच्चा पदार्थ प्राप्त भएकाले हो । नेपालमै कच्चा पदार्थ पाइने भएकाले निर्यात बढ्दै गएको भन्सार अधिकारीहरुको भनाई छ । सरकारले सिमेन्ट निर्यात बढाउन करिब आठ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । पछिल्लो समय कच्चा पदार्थ पनि स्वदेशमै उत्पादन हुने हुँदा निर्यात बढ्दै गएको अनुमान उद्योगीहरुको छ ।

काँकरभिट्टा नाका भएर करोडौंको सिमेन्ट निर्यात भए पनि झापामा उत्पादन भएको सिमेन्टले आन्तरिक बजार मात्र धानेको छ । ‘स्थानीय उद्योगको उत्पादनले स्थानीय बजार धानेको छ ’ कञ्चनजंघा सिमेन्ट उद्योग प्रालि चारपानेका सञ्चालक अजय साहेवालाले भने,‘स्थानीय उद्योगको उत्पादन स्थानीय बजारमा खपत हुने गरेको छ । तर, झापाका थुप्रै सिमेन्ट उद्योगहरु विविध कारणले बन्द भएका छन् । ’ कुनै बेला झापामा एक दर्जनबढी सिमेन्ट उद्योग भएपनि अहिले कञ्चनजंघा, मेघा, मनसा, गोर्खाली र सेन्चुरी सिमेन्टमात्र उत्पादन हुने गरेको उनको भनाई छ । नेपाली सिमेन्टको गुणस्तर स्थापित हुन थालेको, निर्यातमा पनि सहज वातावरण बन्दै गएको, भारतमा नेपाली ब्रान्ड स्थापित भएपनि झापामा उत्पादित सिमेन्ट विदेश पठाउन नसकेको व्यवसायीहरुको भनाई छ । स्थानीय उद्योगले स्थानीय माग पुरा गरेको बताईएको छ ।

भन्सार विभागका अनुसार नेपालबाट विभिन्न नाका भएर आर्थिक वर्ष ०७७÷७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको थियो । आर्थिक वर्ष ०७८÷७९ मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन , गत आर्थिक वर्ष २०८०÷८१ मा नेपालले तीन अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ । व्यवसायीहरुका अनुसार पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तम, सीजी सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो ।

सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । त्यसमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै २ करोड २० लाख टन रहेको अनुमान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्