दमक, भदौ ९ ।झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतवार दमक ईलाकाअन्तर्गतका सेवाकेन्द्रहरुका सदस्यहरुको बिस्तारित भेला सम्पन्न गरेको छ ।

झापाको कमल गाउँपालिका पाडाजुंगीमा दमक, नमुना ढुुुकुरपानी, लखनपुर, गौरादह, जुरोपानी, बैगुन्धुरा र क्याम्पा सेवाकेन्द्रका सदस्यहरुको बिस्तारित भेला सम्पन्न भएको हो । कर्णाली सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको बिस्तारित भेलामा करिब सवा सय सदस्यहरुको उपस्थिति रहेको थियो ।

शिक्षा उपसमिति संयोजक भुपाल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सदस्यहरुले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरुमाथि टिप्पणी र जिज्ञासा राखेका थिए । संस्थाले सञ्चालन गरेको बिशेष उपचार कोष, कर्जा सुरक्षण कोषलगायतका कोषहरुका बारेमा सदस्यहरुले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले कर्णाली सहकारी पूर्ण रुपमा सदस्यमुखी भएकोले यस्ता कार्यक्रमहरु निरन्तर गर्दै आएको बताए । समय–समयमा सदस्यहरुको सुझाव र सल्लाह लिँदै संस्थाका नीति नियमहरु बनाउने भन्दै उनले सदस्यहरुले पनि संस्थाले बनाएका हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउनु पर्ने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका सचिव तथा शिक्षा उपसमिति संयोजक बस्नेतले कर्णाली सहकारी सदैब सदस्यहरुको जीवनस्तर परिवर्तनका लागि लागिरहने भन्दै सदस्यहरुले पनि धेरै वटा सहकारीको सदस्य बन्नेभन्दा पनि कर्णाली सहकारीमा मात्रै सदस्य बनेर यसैका कार्यक्रमहरुमा मात्रै सहभागिता जनाउनु पर्ने बताए । संस्थाका नीति नियमहरुको बारेमा पूर्ण रुपमा जानकारी लिँदै आवश्यक सुझाव सल्लाह दिन पनि उनले सदस्यहरुलाई आग्रह गरे । सदस्यहरु सचेत भए सहकारीमा कुनै समस्या नआउने भन्दै उनले सञ्चालकहरुलाई आवश्यक खबरदारी गर्न पनि सदस्यहरुलाई आग्रह गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्