झापा, भदौ ९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा कार्यरत सदस्य सहजकर्ता कर्मचारीहरुलाई संस्थामा परिमार्जित नीति तथा कार्यविधिहरुका बारेमा दोस्रो चरणको अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

भदौ ८ गते शनिबार बिर्ताअर्जुन क्षेत्र र कनकाई रतुवा क्षेत्र ख अन्तर्गतका सेवा केन्द्रहरुमा कार्यरत सदस्य सहजकर्ताहरुलाई अभिमुखीकरण गरिएको हो । संस्थाको बिर्ताअर्जुन क्षेत्रका सदस्य सहजकर्ताहरुलाई बिर्तामोडमा र कनकाई रतुवा क्षेत्र खका सदस्य सहजकर्ताहरुलाई शिवसताक्षीको दूधेमा भेला गरी परिमार्जित नीति तथा कार्यविधिहरुका बारेमा अभिमुख गराइएको हो ।

अन्तरक्रियात्मक विधिबाट भएका दुवै कार्यक्रमहरुमा सदस्य सहजकर्ताहरुले काम गर्दा महसुस गरेका अप्ठ्याराहरुलाई सहजकर्ता समक्ष जिज्ञासा राख्दै जानकारी लिएका थिए ।

संस्थाअन्तर्गतको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा भएका ती दुवै कार्यक्रममा चालू आर्थिक वर्षमा संस्थाका नीति तथा कार्यविधिहरुमा भएको परिमार्जनहरुबारे मसिनो गरी अवगत गराइएको थियो ।
संस्थाको राजदूतजस्तै बनेर दिनहुँ आफ्ना सदस्यहरुको पसल, कार्यालय र घरदैलोमा पुगेर सेवा दिने कर्मचारीहरुलाई आवश्यक पर्ने महत्वपूर्ण जानकारीहरु प्रदान गरी संस्थाको कामलाई चुस्त बनाउन वर्षेनि यस्तो तालिम सञ्चालन गर्ने गरिएको आयोजक उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतले बताएका छन् ।

कर्यक्रमअन्तर्गत कनकाई रतुवा क्षेत्र खमा भएको कार्यक्रममा शिक्षा तथा तालिम उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले संस्कारसहित सदस्य सहजकर्ताको भूमिका विषयमा सहजीकरण गरेका थिए ।

यस्तै, कर्पोरेट प्रशासन विभाग प्रमुख मनिष कोइरालाले नीतिगत परिमार्जनसम्बन्धी विषयमा र एटिएम तथा आईटी सपोर्ट विभाग प्रमुख गोपीकृष्ण सुवेदीले डिजिटल बैंकिङ सम्बन्धमा सहजीकरण गरेका थिए ।
शिक्षा तथा तालिम उपसमितिका सदस्य गोपाल काफ्लेले अभिमुखीकरण कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै शाब्दिक स्वागत गरेका थिए भने संस्था सञ्चालक समितका सदस्य तथा क्षेत्रीय समन्वय समितिका संयोजक दुर्गाप्रसाद भट्टराईको विशेष उपस्थिति रहेको थियो ।

यस्तै बिर्ताअर्जुन क्षेत्रका सदस्य सहजकर्ताहरुका लागि बिर्तामोडमा आयोजित अभिमुखीकरण कार्यक्रममा संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले संस्कारसहित सदस्य सहजकर्ताको भूमिका विषयमा सहजीकरण गरेका थिए ।यसैगरी प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले नीतिगत परिमार्जनसम्बन्धी विषयमा र आइटी विभाग प्रमुख आविष्कार बस्नेतले डिजिटल बैंकिङ सम्बन्धमा सहजीकरण गरेका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सहसंयोजक घनश्याम अधिकारीको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा संस्था सञ्चालक समितका सदस्य तथा क्षेत्रीय समन्वय समितिका संयोजक हरिप्रसाद आचार्यको विशेष उपस्थिति थियो ।

संस्थाका ७ वटा क्षेत्रहरुमध्ये ४ वटा क्षेत्रमा कार्यरत सदस्य सहजकर्ताहरुका लागि अभिमुखीकरण सम्पन्न भएको छ भने आगामी भदौ १५ गते तेस्रो चरणमा बाँकी ३ वटा क्षेत्रमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने उपसमितिका सदस्य सचिव अरुणकुमार प्रधानले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्