झापा,भदौ १० । मोरङ उद्योग व्यापार संघ अन्तर्गतका महिला उद्यमी समितिले हरितालिका तिजको उपलक्ष्यमा नारी उत्सव आयोजना गर्ने भएका छन् ।
आगामी भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा हुने ‘नारी उत्सव २०८१’ मा महिलाहरूले उत्पादन गरेका घरायसी उत्पादनलाई प्रत्यक्ष रूपमा बजारमा ल्याउने र आफ्नो सक्षमता झल्काउने अपेक्षा गरिएको छ ।
मोरङ उद्योग व्यापार संघको कार्यालयमा उद्यमी समितिकी संयोजक श्रुती शर्माले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रहरूमा संलग्न महिला उद्यमीहरूको प्रवर्द्धन एवं उत्थान गर्ने दीर्घकालीन र मध्यकालीन लक्ष्य लिएको बताइन् । बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म विराटनगरको सिटी पार्टी प्यालेस एण्ड रिर्जटमा हुने नारी उत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ भने उत्पादनहरू प्रदर्शनीका लागि ६० वटा स्टलहरू राखिने उनले बताइन् ।
त्यस्तै, उत्सवमा अठार वर्ष माथिका महिलाहरूका लागि तिज क्वीन २०८१ प्रतियोगिता पनि हुने भएको छ । यस्तै प्रत्येक दिन बेलुका विभिन्न स्थानीय कलाकारहरूबाट सांगीतिक कार्यक्रम हुने जनाइएको छ । मेलाको उद्घाटन समारोहमा मिस नेपाल वल्र्ड आश्मा कुमारी केसी र मिस नेपाल अर्थ सुमना केसीको सहभागिता रहनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्