झापा, भदौ १० । आफन्तको घरबाट स्कुटीमा फर्किदै गर्दा कन्काईका दुईजना दिदीभाईमाथि झापा गाउँपालिका वडा नं.५ पन्थापाडामा सामूहिक हमला भएको छ । हमलाबाट दुवैजना सख्त घाइते भएका छन् ।

सांकेतिक तस्वीर

गएराति १२ बजे झापा गाउँपालिका वडा नं.५ पन्थापाडामा कन्काई नगरपालिका ३ सुरुङ्गाकी २६ वर्षीया सिर्जु दर्जी र उनका भाई २२ वर्षीय विवश दर्जीलाई चारजनाको समूहले सांघातिक हमला गरेका हुन् । झापा गाउँपालिकाको झापा बजारमा रहेको आफन्तको घरबाट फर्किने क्रममा पन्थापाडा चोकमा बसिरहेका झापा ५ सिमलडाँगीका शम्सेर मियाँ , वडा नं ५ रुईमारीका सावुदिन मियाँ , पुरानो शरणामतीका जयप्रकाश गणेश र बाह्रदशी ४ चकचकीका विरेन्द्र पोद्धारले दर्जी दिदीभाईमाथि सामूहिक हमला गरेको प्रहरीले जनाएको छ । लागूअ‍ौषध प्रयोग गरी आएको भन्दै उनीहरुले दिदीभाईलाई कुटपिट गरी बेहोस बनाएका थिए ।

घटना थाहा पाएर पन्थापाडाको प्रहरी टोली घटनास्थल पुगेको थियो । दुवैलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पताल ल्याइएको छ । कुटपिट गर्ने चारैजना फरार रहेका छन् । घटनास्थलबाट फरार युवाहरुको मे११प २२३०,प्र१–०२–००३ प ३३१८ र दर्जीको प्र १–०१७ प ३८७ नं.को स्कुटी नियन्त्रणमा लिई पन्थापाडा चौकीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्