झापा, भदौ १० । खोटाङमा एउटै घरका दुई बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
च्यास्मिटार बाङ्माका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममता खोज्दै जाँदा ५ः४५ बजे पोखरीमा डुबिरहेको अवस्थामा बच्चालाई भेटिएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका बच्चालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउनेबित्तिकै दुइवटै बच्चाको मृत्यु भएको जानकारी पाएको डिएसपी पुरुषोत्तम खड्काले बताए ।

घटनाको विषयमा जानकारी पाउनसाथ च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी पुगेका छन् । घटनाको अनुसन्धान एवं कानूनी प्रक्रियाका लागि आफ्नै नेतृत्वमा जिल्लाबाट प्रहरी टोली जाँदै गरेको उनको भनाइ छ ।

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । हिउँदको समयमा स्थानीय उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए ।

हाल बर्खामा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैन थिए । सुनसान ठाउँमा रहेको पोखरीमा डुबेर दुई बच्चाको ज्यान गएको स्थानीय रसकुमार राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्