बिर्तामोड, भदौ १० । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका शैक्षिक संस्थाहरुमा खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग तथा बेचबिखन नगर्न अपिल गरेको छ।

झापाका अधिकांश आवासीय तथा गैरआवासीय शिक्षण संस्थाहरुमा मानव स्वास्थ्यमा दीर्घकालीन रुपमा असर गर्ने जंकफुड व्यापक प्रयोग भएको पाइएकाले प्रतिवन्ध गर्न र अटेर गरे कारबाही गरिने नेकपा झापाले जनाएको छ ।

नेकपाका जनवर्गीय संगठनले सोमवार बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर झापाका शिक्षण संस्थाहरुमा एक महिनाभित्र जंकफुड प्रतिबन्ध लगाउने जानकारी दिएको हो ।

पार्टीले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) का अनुसार बालबालिकाको अत्यधिक तौल, टाईप टु मधुमेह, उच्च रक्तचाप, हृदय रोग, कोलेस्ट्राल, मिर्गौला रोग, ओस्टियोपोरोसिस, अटेन्सन डिफिसीट (एडीडी), डिप्रेशन, केही क्यान्सरजस्ता दीर्घकालीन गम्भीर स्वास्थ्य समस्याहरु आउनुको कारण जंकफुड रहेको छ । पूर्ण रुपले शैक्षिक संस्थामा जंकफुड प्रतिवन्ध गरिने पार्टीका झापा इन्चार्ज सुमनसिंह सीले जानकारी दिए ।

जंकफुड उत्पादन गर्ने मानव स्वास्थ्य विरोधी व्यापारी र स्वास्थ्यजस्तो अति संवेदनशील विषयको पर्वाह नगर्ने शिक्षण संस्था, राज्य सरकार र समाजले जंकफुडको प्रयोगमा गम्भीर बन्नुपर्ने पार्टीका झापा सचिव संजय सीले बताएका छन् । शिक्षण संस्थाले सञ्चालन गरेको क्यान्टिन र अभिभावकबाट तयार गरिएको टिफिनमा समावेश सबै जंकफुडलाई तत्काल उन्मूलन गर्नुपर्ने र विद्यालय हाताभित्र जंकफुड पूर्ण निषेध गर्नुपर्ने आवश्यकता रहेको पत्रकार सम्मेलनमार्फत बताइएको छ। अज्ञानताको कारण वा अन्य कुनै स्वार्थको कारण प्रयोगमा ल्याइएको जंकफुड पूर्णरुपमा निषेध गर्न सरोकारवाला सबैमा पार्टीले आग्रह गरेको छ ।

बालबालिकाहरुको सुरक्षासम्बन्धी पनि प्रश्न खडा भएको जनाउँदै पार्टीले विद्यालय परिसरबाट बच्चा हराउने, अज्ञात रुपमा चुनौतीपूर्ण आवतजावत जस्ता घटनाहरू प्रशस्त भइरहेको जनाएको छ । जसका कारण पठनपाठन र अनुशासनमा नकारात्मक प्रभाव परेकाले यसलाई नियन्त्रण गर्न प्रत्येक आवासीय र गैरआवासीय शिक्षण संस्थाको प्रवेशद्वारमा सिसी क्यामेरा जडान गर्न र सेक्युरिटी गार्ड राख्न आवश्यक रहेको बताएको छ ।

त्यस्तै माध्यमिक तह र कलेज तहका केही विद्यार्थीहरू अत्यधिक दुव्र्यसनको प्रभावमा पाइएको र सविधानमा पनि शिक्षण संस्था आसपास अर्थात १०० मिटर भित्र दुव्र्यसनजन्य वस्तु बेचविखन गर्न नपाउने प्रावधान भएको पत्रकार सम्मेलनमा वितरित बिज्ञप्तिमा उल्लेख छ । ‘तर कतिपय शिक्षण संस्थाहरूमा यो लागू भएको पाइएको छैन, विद्यार्थीहरु कुलतमा फस्न सक्ने संभावनालाई मध्यनजर गर्दै कडाइपूर्वक कुलतलाई उन्मूलन गर्ने कार्यमा लाग्न समेत अनुरोध गर्दछौ ’ जारी बिज्ञप्तिमा भनिएको छ ।
पार्टीले विद्यार्थीको स्वास्थ्य, सुरक्षा र विद्यालयले पालना गर्नु पर्ने आधारभूत नियम लागू गर्ने अभियानसँग सहकार्य गर्न सरोकारवाला सवैमा अपिलसमेत गरेको छ ।

पार्टीले एक महिनाभित्र सवै शैक्षिक संस्थालाई जंकफुड प्रतिवन्ध गर्न आग्रह गर्दै उक्त साझा अभियान सरोकारवालासहित अनुगमनमा आउने जनाएको छ । एक महिनाभित्र सबै शिक्षण संस्थाहरुमा जंकफुडलाइ पूर्ण रुपमा प्रतिबन्ध गर्न अनुरोध गर्दै अभियानलाई बेवास्ता गरी बालबालिका र विद्यार्थीको अहित भएमा पार्टी, जनवर्गीय संगठन र सिंगो पंक्तिले सशक्त संघर्ष चेतावनीसमेत दिइएको छ ।

पत्रकार सम्मेलनमा अखिल समाजवादी झापा इन्चार्ज बिनोद सी, समाजवादी ट्रेड युनियन मजदुर संगठन झापाका इन्चार्ज कुमार सी, श्रमिक समुदाय इन्चार्ज झापा गोपी सी, युवा संगठन नेपाल झापा इन्चार्ज मणि सी, अखिल नेपाल महिला संघ क्रान्तिकारी झापा इन्चार्ज रोशनी सी, किसान संगठन झापा इन्चार्ज डेननाथ सी, शिक्षक संगठन झापा इन्चार्ज भीष्म सीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्