बिर्तामोड, भदौ १० । ‘म पनि सक्छु’ भन्ने मुख्य अभिप्रेरणाका साथ स्थापना भएको गोर्खा फाउन्डेशन नेपालको अध्यक्षमा विर्तामोडका वीरबहादुर दर्नाल ( वीरु )पुनः चयन भएका छन् ।

आज सम्पन्न एक भेलाले दर्नाललाई पुनः अध्यक्षमा चयन गरेको महासचिव सुवास तिखत्रीले बताए । स्थानीय युवाहरुको ब्यक्तित्व र नेतृत्व विकास गर्दै सामाजिक कार्यमा अग्रसर गराउने उद्धेश्यले २०७५ सालमा फाउन्डेशनको स्थापना गरिएको अध्यक्ष दर्नालले बताए ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र दास , महासचिव सुवास तिखत्री , उपाध्यक्ष रोशन नेपाली , सचिव कृष्ण अनमोल सुन्दास र कोषाध्यक्ष नविना राई चयन भएका छन् । नौं सदस्यीय कार्यसमितिको सदस्यहरुमा रेगन प्रसाईं , काजी ठटाल र टोनी मुर्मु रहेका छन् ।

फाउन्डेशनले गत चैत्र २१ गते समर्पण अभियानका प्रणेता राजा पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विसे नगर्चीको नाममा राष्ट्रमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पाँच जना ब्यक्तित्वलाई रु. ५१ हजार नगदसहित सम्मान गरेको थियो । यो राष्ट्रिय सम्मान हरेक वर्ष निरन्तर गरिने वरिष्ठ उपाध्यक्ष दासले बताए । यो वर्ष काठमाडौमा गरिने जनाईएको छ ।

फाउन्डेशनले दुई जना विद्यार्थीलाई कानून विषयमा कक्षा १२ मा अध्ययनको ब्यवस्था गरेको छ । आउँदा वर्षहरुमा पनि यो कार्य निरन्तर रहने बताईएको छ । विसे नगर्चीबारे स्थलगत अध्ययन गर्न फाउन्डेशनको संयोजन र अध्यक्ष दर्नालको नेतृत्वमा झापाका १६ जना पत्रकारको टोली गोरखा जिल्ला पुगेर नगर्चीबारे अनुसन्धान तथा परामर्श गरेको उपाध्यक्ष रोशन नेपालीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्