बिर्तामोड,भदौ ११ । न्यायिक समिति गठन भएपछि लामो समयदेखि समाधान हुन नसकेका विवादहरु स्थानीय स्तरबाटै मेलमिलापका माध्यमबाट समाधान भएको सोमवार बिर्तामाडमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले माकुरा समूह सदस्यहरुका लागि आयोजना गरेको आठ दिवसीय ४८ घण्टे मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन सत्रमा सहभागी वक्ताहरुले देवानी प्रकृतिका विवादहरुलाई सहजीकरण गरी संवादको माध्यमबाट जीत–जीतको अवस्थामा पुर्याउने गरी विवाद समाधान गर्ने सीपको विकास भएको बताएका हुन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालले उद्घाटन मन्तव्य राख्दैं तालिम निकै फलदायी हुने विश्वास व्यक्त गरे । वास्तवमा सरकारले गर्नुपर्ने यस्तो काम प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले गरेर धन्यवादको पात्र बनेको उनले बताए ।

उद्घाटन सत्रमा बिर्तामोड नगरपलिकाका प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतले बोलेका थिए ।प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका स्रोत व्यक्ति संगीता थापाले अध्यक्षता गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । उद्घाटन सत्रको सञ्चालन सहजकर्ता हिमा मगर तथा स्वागत मानबहादुर कार्कीले गरेका थिए ।

भदौ १७ गतेसम्म सञ्चालन हुने तालिममा जिल्लाका विभिन्न पालिकाका न्यायिक समिति सदस्य, मेलमिलापकर्ताको सहभागिता रहेको छ । उनीहरुलाई जिल्ला अदालत झापाका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेल, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका स्रोत व्यक्ति संगीता थापा, कानुन व्यवसायी नवीन खतिवडा, केन्द्रका सहजकर्ता चेतन विष्टलगायतले प्रशिक्षण दिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्