झापा, भदौ ११ । झापामा लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।

गएराति ९.५५ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधे चौकमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झिलझिलेबाट माइधारतर्फ आउँदैं गरेको प्र १–०१–०१५ प ३२२ नम्बरको स्कुटीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा स्कुटीको डिकीभित्र लागूऔषध फेला परेको थियो । ट्रामाडोल १७४ क्याप्सुलमध्ये ८ वटा क्याप्सुल प्रयोग गरि १६६ क्याप्सुल बाँकी रहेको,कोलिबान १६० क्याप्सुलमध्ये ६ वटा प्रयोग गरी १५४ वटा क्याप्सुल बाँकी रहेको फेला पारी स्कुटीसहित स्कुटीमा सवार तीनैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा स्कुटी चालक शिवसताक्षी वडा नं. १० माइधार बस्ने २२ वर्षीय दिपेश तामाङ , सोही वडाको झरना चौक बस्ने २५ वर्षीय सिमान्त सुब्बा र वडा नं ३ धरमपुर बस्ने १९ वर्षीय श्याम दर्जी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

त्यस्तै हिजो दिउँसो १ बजे दमक नगरपालिका वडा नं.५ बस्ने २० वर्षीय अर्जुन कार्कीलाई इलाका प्रहरी कार्यालय दमकले लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरी टोलीले शंका लागेर तलासी लिँदा झोलाभित्र लुकाई छिपाई राखेको प्रतिवन्धित औषधि ट्रामाडोल २०० क्याप्सुल र डिसाइक्लोमिन २०० क्याप्सुल फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

त्यस्तै हिजो साँझ ६.३० बजे भद्रपुर नगरपालिका वडा न.५ मेची पुलमा अस्थायी प्रहरी बिट मेची पुल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १०प ३२८७ नं. को मोटरसाइकलमा सवार भद्रपुर ८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको मलद्वारमा प्लाष्टिकले पोका पारी लुकाई छिपाइ ल्याउँदै १३ ग्राम ३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई सोधपुछ गर्ने क्रममा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं.३ बस्ने २८ वर्षीय सन्दिप थापाका लागि ल्याएको बताएपछि उनलाई समेत खोजतलास गर्ने क्रममा भद्रपुर ८ स्थित हस्पिटल मोडबाट पक्राउ गरिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान कार्य जारी रहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्