झापा, भदौ ११ । नेपाली अर्थोडक्स चिया उत्पादकलाई खुला बजारमुखी एवं स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदानका लागि नेपालमा पहिलो पटक नेपाली चियाको प्रतिस्पर्धा गराइने भएको छ ।
इलामको सूर्योदय नगरपालिकामा रहेको ‘टी स्टेसन इन्क’ आयोजनामा भदौ ११ गते काठमाडौँमा प्रतिस्पर्धा गराउन लागिएको हो । स्वदेशी तथा विदेशी बजारमा नेपाली अर्थोडक्स चियाको माग र बजार विस्तारको सम्भावना खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको टी स्टेसन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताए । प्रतियोगितामा नेपालका साना ठुला सबै गरी एक सयभन्दा बढी चिया उद्योगले प्रतिस्पर्धामा भाग लिने छन् ।
उनका अनुसार काठमाडौँमा चिया व्यवसाय सञ्चालन गरिरहेका ७० भन्दा बढी होलसेलर, रिटेलर, निर्यातकर्ता र प्याकेजरले एकै ठाउँमा चियाको स्याम्पल हेर्न र चाख्न पाउने छन् ।
नेपाली अर्थोडक्स चियाको उत्पादक, क्रेता, प्याकेजर र चिया पारखीलाई एउटै थलोमा ल्याउन पहल गरी नेपाली गुणस्तरीय चियाको प्रवर्धन गर्न र चियाको नमुना अक्सन सञ्चालन गरी यसको आवश्यकता र फाइदाबारे बोर्ड, मन्त्रालय र नीति निर्माणकर्तालाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
अध्यक्ष प्रधानका अनुसार उक्त प्रतिस्पर्धामा नेपाली अर्थोडक्स चिया उत्पादकहरू सहभागी हुन सक्ने छन् । उक्त प्रतिस्पर्धामा मुख्य गरी दुई वटा विधा निर्धारण गरिएको छ । साधारण अर्थोडक्स चिया र विशिष्ट अर्थोडक्स चिया रहने छन् ।
यी दुई विधाका चार वटा चियाका प्रकारमा वाइट टी, ग्रिन टी, ब्ल्याक टी र ओलङ टीबिच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धामा सामेल सबै चियालाई विभिन्न देशबाट निमन्त्रणा गरिएका निर्णायकको मण्डलबाट स्वाद परीक्षण गरेर मूल्याङ्न गरिने छ । निर्णायक मण्डलबाट एक जना निर्णायकलाई दुवै विधाका चार प्रकारका चियामध्ये कुनै एक प्रकारको चियाको मूल्याङ्कन गर्न दिइने छ ।
टी स्टेसन इन्कले यस्तै प्रकृतिको इलाम टी च्यालेन्ज– २०२० को आयोजना गरेको थियो । उक्त प्रतियोगितामा नेपालका ६२ वटा अर्थोडक्स चिया उत्पादकले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्