झापा , भदौ ११ । झापाका होटलहरुमा विकृति विसंगति भए नभएको विषयमा छानविन गरी दोषीमाथि कार्वाही गर्न होटल व्यवसायी संघ झापाले प्रहरी प्रशासनसंग माग गरेको छ ।

विभिन्न संचारमाध्यमका समाचारमा उल्लेख भएका विषयमा अविलम्व सत्य तथ्य छानविन गरी कानुनी कारवाहीको दायरामा ल्याउन संघले प्रेस विज्ञप्तिमार्फत माग गरेको हो । झापा जिल्लावाट प्रकाशन हुने विभिन्न अनलाइन समाचार, दैनिक पत्रपत्रिकाहरुमा विर्तामोडलगायत झापाका विभिन्न ठाउँमा सञ्चालन भएका “होटल, लज, डान्सवारमा खुलेआम यौन धन्दा“ शीर्षकमा समाचार सम्प्रेषण भएको थियो ।

त्यस समाचारप्रति होटल व्यवसायी संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचारमा उल्लेख भएअनुसार होटलको नाम तोकेर त्यसमा स्थानीय प्रशासनको समेत मिलेमतो रहेको कुरा आउनु दुःखद भएको संघका अध्यक्ष इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ ,‘यस विषयप्रति सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउँदै यस्ता विषयलाई निरुत्साहित गर्न र दोषी भए दोषीलाई कानुनी कारवाही गर्नु पर्छ भन्ने विषयमा संघ प्रतिवद्ध रहेको जानकारी गराउँदछौं ।’

यदि यो समाचार सत्यतथ्य हो भने समाजमा देखिएका यस्ता विकृति विसंगति नियन्त्रण गर्ने जिम्मा कसले लिने ? भन्ने प्रश्न खडा भएको जनाइएको छ । यसप्रति संघ गम्भीर रुपमा सम्बद्ध सवै पक्षको ध्यानाकर्षण गराउँदै संघले सबै व्यवसायीहरुलाई एकै नजरले हेर्ने दृष्टिकोण नराख्न अनुरोध गरेको छ । विज्ञप्तिमा सत्य र तथ्यमा आधारित समाचार मात्र सम्प्रेषण गर्न पत्रकारहरुलाई समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्