झापा, भदौ ११ । एकपछि अर्को व्यवसायीले करोडौ ठगेर भाग्ने श्रृंखलाबद्ध घटनाले बिर्तामोड ठगी गर्ने ठाउँको रुपमा कलंकित बनेको छ ।

सामान्य ठगीका घटनामात्र नभएर सुनियोजित ढंगले करोडौ ठगी गर्ने षडयन्त्रहरु बिर्तामोडमा भइरहेको विभिन्न घटनाले पुष्टि गरेको छ । ठगी गरेर भाग्नेहरु सामान्य व्यक्तिहरु होइनन् , व्यावसायिक र सामाजिक हिसावले गन्यमान्यहरु नै छन् । जसका कारण आर्थिक कारोवारमा सचेत हुनुपर्ने अवस्था देखिएको छ । पछिल्लो समय बिर्तामोडमा बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेडलिंकका प्रोप्राइटर चुडामणि पौडेल करोडौं रकम ठगी गरी वेपत्ता भएका छन् । गत साउन २० गतेदेखि उनी अचानक परिवारसहित वेपत्ता भएका हुन् । बिर्तामोडमा प्रायः सबैले चिनेका पौडेल व्यवसायिक , सामाजिक र कलाकारिताको आडमा धेरैलाई ठगी गर्न सफल भए ।

त्यस्तै करिव दुई अर्ब रकम ठगी गरी नरेन्द्र मैनाली पनि वेपत्ता भएको महिनौ भयो । जसका कारण बीएण्डसी अस्पतालका संस्थापक महेन्द्र प्रसाईले झुन्डिएर आत्महत्या गर्नुपर्यो । ऋण र हाइड्रोपावर कम्पनीमा लगानी गरी करिव ६ करोड रुपैयाँ डुबाएपछि त्यही पीरले प्रसाईले मैनालीको घरमै गएर भदौ ७ गते आत्महत्या गरेको खुलेको छ ।
प्रसाईंसंगै बिर्तामोड र आसपासका अन्य व्यवसायीको समेत दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर फरार मैनाली काठमाडौमा लुकेर बसेको आशंका गरिएको छ ।

त्यस्तै भद्रपुर रोडमा ग्लोवल बुक्स एण्ड स्टेशनरी सञ्चालन गर्दै आएका नरेश शर्मा र हेयर एण्ड डर्मा केयर (कपाल उमार्ने) अस्पतालका सञ्चालक मनोराम चिमरिया करोडौ रकम अपचलन गरेर भागेको पीडितहरुले बताएका छन् ।

शर्माले व्यवसायीकै करोडौैं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने चिमरियाले धेरैजसो मिटरव्याज र वित्तीय संस्थाहरुबाट करोडौं रकम लिएको बुझिएको छ । शर्मा भारतको राजस्थानतिर भागेको आशंका गरिएको छ । आर्थिक कारोवार बिग्रिएपछि उनीहरु सम्पर्कबिहीन छन् ।शर्मा बिर्तामोडका पुराना स्टेशनरी व्यवसायी हुन् ।

त्यस्तै बिर्तामोड–२ चैतुबारी बजारमा पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय घनश्याम पौडेल करोडौँ रकम ठगेर सम्पर्कविहीन भएको करिव एक वर्ष भइसक्यो । पौडेल स्थानीयहरुको पाँच करोड रुपैयाँभन्दा बढी रकम ठगेर सम्पर्कबाहिर छन् । पौडेलविरुद्ध पीडितहरुले मुद्दा दायर गरेका छन् । तर पनि उनी एक वर्षयता भेटिएका छैनन् । ५३ जना पीडितहरुले आफूहरुको तीन करोड ७१ लाख रुपैयाँ ठगी गरेको भन्दै पौडेलले लगेको रकमको सूची नै सार्वजनिक गरेका छन् ।

त्यस्तै बिर्तामोड –५ मा व्यवसाय गरेर बसेका पंकज अग्रवाल पनि करोडौं रुपैयाँ ठगेर फरार छन् । साबिक मेचीका चार जिल्लामा उनले चामलको व्यापार गरिरहेका थिए । बिर्तामोडमा व्यवसाय गरी झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रसम्म उनले कारोबार गरेका थिए ।

त्यस्तै बिर्तामोड–४का व्यवसायी अनिल अग्रवाल रिङ्कु पनि विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोड रुपैयाँभन्दा बढी लिएर परिवारसहित वेपत्ता भएको वर्षौ भइसक्यो ।

यी बाहिर आएका ठूला ठगीका केही घटना मात्र हुन् । त्यसबाहेक बिर्तामोडमा अन्य धेरै ठगीका घटना भएका छन् । जुन सार्वजनिक भएको छैन । मिटरव्याजमा लगानी गर्ने अधिकांशको रकम डुबेको प्रहरीले जनाएको छ । छोटो समयमा करोडौ कमाउने लालचमा एकले अर्कोलाई झुक्याएर ठगी गर्ने प्रवृति देखिएकाले आर्थिक कारोवारमा सचेत हुनुपर्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्ट बताउँछन् । उनले बिर्तामोडमा भएका केही ठगीका घटनाको उजुरी परेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्