झापा , भदौ ११ । मोरङमा लघुवित्तका दुईवटा शाखा कार्यालयमा मंगलबार दिउँसो आगजनी र तोडफोड गरिएको छ।

प्रहरीका अनुसार कानेपोखरी गाउँपालिका–२ दलेलीमा रहेको अभियान लघुवित्त र बेलबारी नगरपालिका–७ नयाँ बाहुनीमा रहेको नेशनल लघुवित्त वित्तीय संस्थामा आगजनी र तोडफोड भएको हो। अभियान लघुवित्तमा कानेपोखरी–२ कालीस्थानका रामबहादुर लिम्बूसहित १०÷१२ जनाको संख्यामा पुगेको समूहले दिउँसो १२ः४० बजेतिर आगजनी गरेको प्रहरीले जनाएको छ।

अचानक लघुवित्तमा छिरेको समूहले कम्प्युटरको मनिटर र कागजात जलाएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । उनका अनुसार काठको कुर्सी तोडफोडसमेत गरिएको छ।

घटनालगत्तै आगजनीमा संलग्नहरु फरार भएका थिए। प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामबहादुर लिम्बूसहित कानेपोखरी–२ की ३५ वर्षीया चन्द्रकला मगर, उर्लाबारी नगरपालिका–७ की ४० वर्षीया मीना रसाइली र ४३ वर्षीया राधा विश्वकर्मा रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा राखिएको छ।

डीएसपी दाहालले फरार रहेका अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिए। उनले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको बताए।

घटनामा संलग्नमध्ये केही व्यक्तिहरु त्यसअघि बेलबारीको नयाँ बाहुनीमा रहेको नेशनल लघुवित्त वित्तीय संस्थामा आक्रमणमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। नेशनलमा बिहान ११ः४० बजेतिर घटना भएको थियो।

बेलबारी–६ का ५० वर्षीय माधव गिरीसहित ३०÷३५ जनाको समूह प्रवेश गरेर नेशनलको कार्यालयमा रहेको ल्यापटप र कागजात पानीमा हालेर नष्ट गरिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार गिरीकी पत्नी ४५ वर्षीया पवित्रादेवी गिरी र छोरी २७ वर्षीया दोर्णकुमारी गिरी नेशनल लघुवित्तका सदस्य रहेको खुलेको छ। आमा–छोरीले नै त्यहाँबाट ऋणसमेत लिएको पाइएको प्रहरीले जनाएको छ । ऋण लिएका उनीहरूले तिर्न आलटाल गर्दै आएको लघुवित्तले जनाएको छ।

पत्नी र छोरी ऋणी रहेको लघुवित्तको कार्यालयमा गिरीसहितको समूह प्रवेश गरी ल्यापटप र कागजात नियन्त्रणमा लिँदै सुनसरी–मोरङ सिचाई आयोजनाको नहरमा फालेर नष्ट गरिदिएको डीएसपी बस्नेतले बताए। उनका अनुसार घटनामा संलग्नहरूको पहिचान भइसकेको छ। घटनापछि फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी बस्नेतले दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्