झापा , भदौ १२ । आमा छोरीलाई ठक्कर दिई फरार भएका सिटीसफारी चालक दमक ९ बस्ने ५५ वर्षीय फिलिप भन्ने लछुमन लिम्बूलाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

गत असार १४ गते दिउँसो १ः४५ बजे दमक वडा नं. १ बरगाछीस्थित भित्री सडकखण्डमा लिम्बूले चलाएको मे १ ह ६४०९ नम्बरको सिटीसफारीले पैदलयात्री काठमाण्डौ दक्षिणकाली १ घर भई हाल दमक १ बस्ने शर्मिला नेम्बाङ र उनकी छोरी बर्ष २ की आरोशी मगरलाई ठक्कर दिई घाइते बनाएको थियो । घाइतेहरुलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा घाइतेमध्ये आरोशीको सोही दिन मृत्यु भएको थियो ।

घटनापश्चात् फरार रहेका तेह्रथुम थोक्लाङ घर भई हाल दमक ९ बस्ने लिम्बूलाई खोजतलास गर्नेक्रममा हिजो साँझ ६ बजे दमक वडा नं. ८ गणतन्त्र चोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्