झापा , भदौ १२ । मिजारुल इस्लामको दुई गोलको मद्धतले बंगलादेशले नेपाललाई ४–१ ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा बंगलादेशको प्रदर्शन पूर्णतः व्यावसायिक देखियो । बंगलादेशले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।

दक्षिण एसियाली उमेर समूहको मेन्स फुटबलमा बंगलादेशले उपाधि जितेको भने यो तेस्रो पटक हो । दुवै टिम प्रारम्भिक चरणमा एउटै समूहमा थिए र त्यस समूहको खेलमा नेपालले बंगलादेशलाई हराएको थियो । तर निर्णायक अन्तिम खेलमा नेपालमाथि त्यसको बदला लिन बंगलादेश सफल रह्यो । प्रतियोगितामा नेपालको यो नै पहिलो हार पनि रह्यो ।

मिराजुलले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा फ्रि–किकबाट गोल गरे र यो सुन्दर रह्यो । नीरज कार्कीले मिराजुललाई लडाएपछि बंगलादेशले फ्रि–किकको अवसर पाएको थियो । मिराजुलको दोस्रो गोल भने सहज रह्यो । खेलको ५५ औं मिनेटमा असादुल मोल्लाले हेड गर्दै सिर्जना गरेको अवसरमा नजिकको दूरीबाट मिराजुलले गोल गरे ।

प्रतियोगितामा मिराजुलको यो व्यक्तिगत चौथो गोल हो र उनी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि रहे । तेस्रो गोल भने रवि हुसेन राहुलले ७१ औं मिनेटमा गोल गरे । मिराजुलले निकालेको पासमा रवि हुसेनले पेनाल्टी एरियाबाट सटिक प्रहार गर्दै आकर्षक गोल गरे । नेपालले ८१ औं मिनेटमा एक गोल फर्कायो र त्यो समिर तामाङको नाममा रह्यो ।

दोस्रो हाफमा १० मिनेट इन्ज्युरी समय थपिएको थियो र त्यसको पनि छैटौं मिनेटमा मोहम्मद नोभाले बंगलादेशका लागि चौथो गोल गरे । रवि राहुलको पासमा उनले सो गोल गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्