झापा, भदौ १३ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भएको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो ।

मुनालाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार साँझ ५ः३५ बजे ह्युस्टन प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्टभित्र धेरैवटा गोली लागेको अवस्थामा मृत फेला पारिएको बताएको छ ।

भोजपुरकी मुना सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत रहेको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए । मुना सुरुमा नेपालबाट गएकी साथीसँगै बसेकी थिइन् । केही समययता भने एक्लै अपार्टमेन्टमा बस्थिन् ।

हाल काठमाडौंको काँडाघारीमा बसोबास गरिरहेकी मुनाकी आमा अनिता पाण्डेका अनुसार छोरीको हत्याबारे उनले मंगलबार बिहान खबर पाएकी थिइन् । मुना अनिताको एकमात्र छोरी थिइन् । अमेरिकाबाट खबर गर्नेले चार दिन पहिले नै उनको हत्या भइसकेको भन्ने जानकारी प्रहरीबाट प्राप्त भएको सुनाएका छन् ।
अनिताका अनुसार पछिल्लो समय मुनाले एक अमेरिकी श्वेत युवकसँग प्रेमसम्बन्ध रहेकोबारे परिवारलाई समेत सुनाएकी थिइन् । तर पछिल्लो अवस्थाबारे भने उनी स्पष्ट छैनन् ।मुना २०२१ अगस्टमा अमेरिका गएकी थिइन् । प्रहरीले शनिवार साँझ भएको सो हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेको बताएको छ । संलग्न व्यक्तिको तस्वीर सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्