झिलझिले, भदौ १३ । मोरङको उर्लाबारीमा सञ्चालित अन्तर विद्यालय हिज्जे प्रतियोगितामा स्थानीय सप्तकोशी बोर्डिङ स्कुल प्रथम भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको आयोजनामा प्याब्सनमा आवद्ध विद्यालयबिच आधारभूत तह (कक्षा ५ सम्म) को अंग्रेजी हिज्जे प्रतियोगिता बिहीवार सम्पन्न भएको थियो ।

नगरका १८ वटा निजी विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा ब्रिलियन्ट एकाडेमी उर्लाबारी–२ दोस्रो र मोरङ मोडल आमावि उर्लाबारी–६ ले तेस्रो स्थान हासिल गरेका छन् ।
नगरमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट पाँच विद्यालयले भदौ २६ गते हुने जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने प्याव्सन नगर अध्यक्ष दिनेश पोख्रेलले बताएका छन् । उत्कृष्ट तीनसहित चौंथो र पाँचौँ भएका पार्लेन्स इन्टरनेशनल एकाडेमी र ओभल स्कुलले पनि जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने उनले बताए ।

नगर अध्यक्ष दिनेश पोख्रेलको अध्यक्षता र प्याव्सनका निवर्तमान केन्द्रीय सदस्य लेखनाथ भट्टराईको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रमुख अतिथि भट्टराईसहित प्याव्सन जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदी, निवर्तमान जिल्ला सदस्य हेमचन्द्र भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्याव्सन नगर समिति सदस्य कमल गौतमले सञ्चालन गरेको कार्यक्रममा सूर्य पौडेलले स्वागत मन्तव्य राखेका थिए भने बासुदेव दाहालले हिज्जेको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्