झापा, भदौ १३ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मी संगठन प्रमुख (आइजीपी) सरह जिम्मेवार भएकाले कुनै लोभ लालच नराखेर काम गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी वल नेपाल नम्बर २ गण हेडक्वाटर झापा तथा अन्य मातहत इकाईहरुको निरीक्षण तथा अनुगमनका क्रममा कार्यरत कर्मचारीहरुलाई बिहीवार संबोधन गर्दै अर्यालले सीमा सुरक्षामा तैनाथमध्ये एकजनाले मात्र गल्ती गरेमा सम्पूर्ण संगठनकै बद्नाम हुने भएकाले आफ्नो राष्ट्र र राष्ट्रको झण्डा ख्याल राखेर काम गर्न निर्देशन दिए ।

सीमा सुरक्षा सशस्त्र प्रहरी वल नेपालको एकल प्रयासले मात्र संभव नहुने भएकाले सीमा क्षेत्रका नागरिकसित हातेमालो गरेर काम गर्न र ‘सीमावासीसंग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअनुरुप कार्य गर्न निर्देशन दिए ।

देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको राजस्व संकलन तथा चुहावट नियन्त्रणमा थप प्रभावकारी भूमिका खेल्नसमेत उनले निर्देशन दिए । ‘सशस्त्र प्रहरीलाई अन्तर्राष्ट्रिय सीमामा रक्षाका निमित्त खटाइएकाले सिपाही , हवल्दार ,अधिकृत होइन , सवैले कमाण्डरको भावनाले काम गर्नस् ’उनले भने । ड्युटीमा खटिने व्यक्ति नै आइजीपी हो राष्ट्रको प्रतिनिधिका रुपमा दायित्व निर्वाह गर्नुपर्ने अर्यालको भनाई थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्