भद्रपुर, भदौ १५ । झापामा रहेका धामी झाँक्री तथा वैद्यहरूले भद्रपुरमा विविध कला प्रदर्शन गर्दै सातौं मनषादेवी विषहरी विष खेल मनाएका छन् ।

नेपाल राष्ट्रिय धामी वैद्य संघ झापाको आयोजनामा भद्रपुर ७ स्थित पश्चिमको चौरीमा झापा, मोरङलगायत भारतको पश्चिम बंगाल तथा विहारबाट भेला भएका धामी झाँक्री र वैद्यहरूले आ–आफ्ना कला देखाएका हुन् ।

संघका झापा अध्यक्ष सतलाल राजवंशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा काली नागको माला लगाएर विषहरी खेल सुरू गरिएको थियो ।

अध्यक्ष राजवंशीले जिउँदो काली नागको माला लगाएर विषहरी थानको केराको खम्बामा नागको गर्जन प्रदर्शन गरिएको थियो भने धामी झाँक्रीहरूले आ–आफ्ना ढोलढ्यांग्रा बजाएर मन्त्रमुग्ध पारेका थिए ।

बहुजातीय धामी झाँक्री सहभागी कार्यक्रममा आगो नबाली चिया पकाउने, विष खेल प्रदर्शन र सिसामा हिड्ने कला प्रदर्शन गरिएको थियो ।

नन्दकुमार राजवंशीले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संघका झापा सचिव देवचरण राजवंशीले पितापुर्खाको पालादेखि प्रकृतिसित जुधेर बाँच्ने कला तथा औषधी उपचार सेवा प्रदान गर्ने एक मात्र निकाय धामी, झाँक्री र वैद्य भएको बताए । सचिव राजवंशीले लोप हुन लागेको मौलिक जिउने कला तथा जीवन उपयोगी विद्या संरक्षणमा सवै पक्ष लाग्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्