झिलझिले, भदौ १५ । आफ्नो वंश उत्थानका निमित्त जग्गा दान गर्ने पाँचजना दङ्गालबन्धु झापाको शिवसताक्षीमा शनिबार सम्मानित भएका छन् ।

दङ्गाल वंश उत्थान केन्द्रीय समितिको चौथो राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित कार्यक्रममा संस्थालाई दुई कठ्ठा १० धुर जग्गा दान दिने पाँचजना दङ्गालबन्धु सम्मानित भएका हुन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ९ संगम चोकनजिकै पूर्वपश्चिम राजमार्गसँग जोडिएको दुई कट्ठा १० धुर जग्गा स्थानीय नेत्र, टेकनाथ, मेदनी,युवराज र घनेन्द्र दङ्गालले आफ्नो वंश उत्थानका निमित्त दङ्गाल बंशो उत्थान केन्द्रीय समितिलाई दान दिएका थिए । सो जग्गामा अत्याधुनिक भवन निर्माण भइरहेको छ । जग्गा दान गर्ने दङ्गालबन्धु एकै घरका पाँच दाजुभाइ हुन् । उनीहरूले पाँच वर्षअघि समितिलाई जग्गा प्रदान गरेका थिए।

शिवसताक्षी नगरका प्रमुख मेगाहाङ थोप्रा र नगर उपप्रमुख नरमाया कार्कीले पाँचै जनालाई दोसल्ला, फुलमाला, अबिर र सम्मानपत्रले सम्मान गरेका थिए। कार्यक्रममा नगर प्रमुख थोप्राले वंश उत्थानका निमित्त स्थापना भएको यस्ता संघ संस्थाहरूलाई स्थानीय पालिकाले हरतरहको सहयोग गर्ने बताए ।
यसैबीच दंगाल वंशो उत्थान केन्द्रीय समितिको चौथो राष्ट्रिय महाधिवेशनको बन्दसत्रले राजन दंगालको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ। यो समिति आगामी तीन वर्षसम्म रहने जग्गादातासमेत रहेका सम्मानित मेदनी दंगालले बताए ।

नवगठित केन्द्रीय समितिको अध्यक्षमा राजन, उपाध्यक्षद्वयमा नारायण र नवीन सर्वसम्मत चयन भएका छन्। यस्तै महासचिव पदमा लक्ष्मी, सचिव पदमा मेघराज, कोषाध्यक्ष पदमा योगराज र सहकोषाध्यक्षमा सन्ध्या दङ्गाल चयन भएका छन्।

कार्यक्रम देवीप्रसाद दङ्गालको अध्यक्षतामा भएको थियो। प्रेम दङ्गालले स्वागत गरेको कार्यक्रमको सचिव अर्का प्रेम दङ्गालले सहजीकरण गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्