लक्ष्मी उप्रेती

मेचीनगर । झापाको मेचीनगर –९ मा रहेको तारापुञ्ज छोरी बुहारी स–शक्तिकरण संस्थाले अनाथ र अपाङ्ता भएका बालबालिकाहरुसँग यस वर्षको तीज मनाएको छ ।

संस्थाले मेचीनगर–७ इटाभट्टास्थित समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिमा रहेका अनाथ र अपाङ्ता भएका बालबालिकाहरुसँग तीज मनाएको हो । समितिमा १६ जना अनाथ तथा अपाङ्ता भएका बालबालिकाहरु छन् । संस्थाले त्यहाँ रहेका बालबालिकाहरुलाई दर खुवाउनुका साथै संस्थालाई स्टेशनरीदेखि खाद्य सामग्री (चामल, दाल, आलु ) प्रदान गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले संस्थाले गरेको यो कार्यको जति प्रशंसा गरे पनि कम हुने बताइन् । संस्थाले हरेक वर्ष विभिन्न स्थानमा पुगेर यसरी नै तीज मनाउँदैं आएको संस्थाकी उपाध्यक्ष भानुमती भट्टराईको भनाई छ । गएको वर्ष मेचीनगर—९ मा रहेका बाल स्वबोध साधना केन्द्रका बालबालिकाहरुसँग मनाएको थियो ।

पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो बढ्दै गएको छ ।
सामाजिक व्यवहार (सुधार) ऐन ,२०३३ र सामाजिक व्यवहार सुधार नियमावली २०३३ ले धार्मिक , सामाजिक एवम् साँस्कृतिक पर्वहरु मनाउने विषयमा व्यवस्थित र नियमन गरेको छ । आफ्ना परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिकरुपमा संरक्षण र सम्वद्र्धन गर्नेबाहेक कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला एवम् भडकिलो कार्यक्रम सञ्चालन गर्न नहुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्