भद्रपुर ,भदौ १७ । सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउँदै आएको पेन्सनमा आधारित ८४ औ पेन्सन दिवस भद्रपुरमा मनाइएको छ ।

पूर्व प्राध्यापक ,शिक्षक,निजामती ,सेना,प्रहरी,न्याय सेवा तथा संघ संस्थाका कर्मचारीहरु सामेल निवृत्त राष्ट्रसेवक समाज भद्रपुर नगर समितिले सोमवार आयोजना गरेको कार्यक्रममा जेष्ठ पेन्सनरलाई सम्मान गरिएको थियो । प्रभातफेरिपछि भद्रपुर ८मा रहेको रेयुकाई सामुदायिक भवनमा पुगेर सभामा परिणत भएको थियो ।

समाजको वार्षिक भेलासमेत रहेको कार्यक्रममा ९५वर्षीय जेष्ठ सदस्य दिलबहादुर रायमाझी र ८५ वर्षीया दुर्गादेवी कोईरालालाई प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहाल, समाजका अध्यक्ष मुक्तिनाथ दाहाललगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थाको सांगठनिक प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गरेका थिए भने आयव्ययसहितको लेखा प्रतिवेदन कोषाध्यक्ष दिपेन्द्र घिमिरेले प्रस्तुत गरेका थिए । अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चिन्तामणि दाहाल,हरिकिशोर आचार्य ,रत्नकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । सचिव खड्कबहादुर बुढाथोकीले संचालन गरको कार्यक्रममा स्वागत धरणी शर्मा न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्