झापा,भदौ १७ । किरात याक्थुङ चुम्लुङले ३६औं स्थापना दिवसमा कोशी प्रदेश खारेजीको मागलाई पुनः उठाएको छ ।

किरात याक्थुङ चुम्लुङ मेचीनगर समितिद्वारा मेचीनगर– ८ इटाभट्टास्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै चुम्लुङका अगुवाहरुले कोशी प्रदेशको नाम खारेज गरी पुनः नामकरण गरिनुपर्ने माग गरेका हुन् ।

किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष धनप्रसाद केरुङको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि चक्र एक्तेन (अभिषेक) रहेका थिए । त्यस्तै किरात याक्थुङ चुम्लुङ मेचीनगरका पूर्व अध्यक्ष हर्क सुब्बा फियाक, पहिचानवादी संघर्ष समिति मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ , नेपाल आदिवासी जनजाति पत्रकार महासंघकी अध्यक्ष भूमिका सुब्बालगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा अतिथिका रुपमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा र सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा बलका सशस्त्र प्रहरी निरीक्षक योगेश्वर खड्कासमेत रहेको जनाइएको छ ।

त्यस्तै किरात याक्थुङ चुम्लुङको ३६औं स्थापना दिवसको अवसरमा कमल गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कमल ५ स्थित नवदुर्गा मन्दिर छेउ मंगलबारेमा किरात याक्थुङ चुम्लुङ कमल गाउँ समितिले सो कार्यक्रम आयोजना गरेको थियो ।

गाउँ समितिका अध्यक्ष अध्यक्ष दिवस लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बू रहेका थिए । त्यस्तै अतिथिमा कमल गाउँ समिति उपाध्यक्ष सुनिता लिम्बू, सचिव यामप्रकाश लिम्बूलगायत रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्