झापा ,भदौ १७ ।नेपालको अवस्था कस्तो बन्दैछ भन्ने कुरा सिन्धुलीको एउटा घटनाले संकेत गरेको छ ।

??????????????????????????????????????????????????????????

गाउँ रित्तिँदै गएपछि त्यहाँ मलामी पाउन पनि मुश्किल पर्न थालेको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको निधन हुँदा मलामी भेटिएन । गाउँभरि हारगुहार गर्दा मुश्किलले एक महिला र तीन पुरुष जम्मा भएपछि बल्ल पहाडीको शव उठेको हो ।

तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार निधन भएको हो । उनको सद्गतका लागि घाट लैजान शव बोक्ने मानिस चार जना मात्र थिए । गाउँकै हिम्मतिली महिला मनमाया अधिकारी शव बोक्न कस्सिएपछि कृष्णमायाको शव उठ्न सम्भव भएको हो ।

केही वर्षअघिसम्म भने गाउँमा कसैको निधन हुँदा ५० जना मलामी नघट्ने गरेको वडाध्यक्ष युवराज पहाडीले बताए । बिरामी कृष्णमायाको निधन भएपछि उनका छोरा, वडाध्यक्ष, वडाध्यक्षका भाइ तोयानाथ र अर्का एक जनाले डेढ घण्टा शव बोकेर वाक्सुखोलामा रहेको घाटसम्म पुर्याएका थिए । वडाध्यक्ष पहाडी पनि सोही गाउँका हुन् । मृतक कृष्णमायाका एक छोरा र दुई छोरी छन् । ‘घाट टाढा छ, गाउँमा शव उठाउने पनि मान्छे भएनन्,’ वडाध्यक्ष पहाडीले भने, ‘यस्तो अवस्था देख्दा दुःख लाग्छ, अब हामी मरे पनि घाटसम्म लगिदिने मानिस कोही नहुने भए ।’

गाउँबाट घाट टाढा भएकाले त्यहाँसम्म शव पुर्याउन पालैपालो ‘काँध फेर्ने’ चलन छ । शव उठाइसकेपछि घाटसम्म नपुर्याइन्जेल बीच बाटोमा राख्न र बिसाउन नमिल्ने मान्यता रहँदै आएको वृद्धहरू बताउँछन् ।

सिंगो वडामा चार सयभन्दा बढी घरधुरी छन् । गाउँमा ७० घरभन्दा बढीको बसोबास छ । त्यीमध्ये क्षत्री–ब्राह्मणका ८ घर रहेका छन् । ती ८ घरका पुरुष कोही विदेश छन् भने केही राजधानीतिर अध्ययन र रोजगारीमा रहेका छन् । क्षेत्री–ब्राह्मणको शव जनजाति र दलित समुदायले छुन नहुन चलन रहेकाले पनि समस्या भएको वडाध्यक्ष पहाडीले बताए । ‘एक त गाउँ रित्तिँदै छ,’ उनले भने, ‘त्यसमाथि यस्ता रुढीवादी संस्कारले झन् ठूलो समस्या ल्याएको छ ।’

स्थानीय काशीराज दाहालका अनुसार पहिला गाउँमा जुनसुकै जातका पनि टन्न मानिस हुन्थे । अर्मपर्म र मृत्यु संस्कारमा छिमेकी गाउँबाट समेत मानिसहरू जम्मा हुन्थे । ‘अहिले बिस्तारै गाउँ रित्तिँदै छ,’ उनले भने, ‘अहिले आएर शवलाई काँध दिने आफन्त तथा छिमेकीसमेत पाउन मुश्किल भयो ।’

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर आफूले जान्दासमेत अहिलेसम्म यस्तो नभएको बताए । गाउँ रित्तिँदै गएको कुराले आफू झस्किएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्