झापा,भदौ १९ । दुग्ध विकास संस्थान (डिडिसि) बाट धनकुटाका दुध उत्पादक किसानले विगत नौ महिनादेखि भुक्तानी पाएका छैनन् । गत वर्षको मङ्सिर १५ गतेसम्मको मात्र भुक्तानी गरेको संस्थानले त्यसयता कुनै पनि रकम भुक्तानी नगरेको दुध उत्पादक जिल्ला सहकारी सङ्घ धनकुटाले जनाएको छ । पहिले १५ दिनको अन्तरमा भुक्तानी गर्दै आएको संस्थानले गत वर्षबाट नियमित भुक्तानी गर्न छाडेको सङ्घका सचिव रोमबहादुर बाजिम्पाकले बताए ।

सङ्घका अनुसार २०८० मङ्सिर १५ देखि २०८१ असार मसान्तसम्म मात्रै डिडिसीले धनकुटा र तेह्रथुमका १७ वटा दुध सङ्कलक सहकारी संस्थालाई १३ करोड ९३ लाख रुपियाँ भुक्तानी दिन बाँकी छ । १७ वटा दुध सङ्कलक सहकारीमध्ये धनकुटाका १५ र तेह्रथुमका दुई सहकारी संस्था छन् ।

यी दुध सङ्कलक सहकारी संस्थाले धनकुटा र तेह्रथुमका करिब पाँच हजार किसानले उत्पादन गरेको दुध सङ्कलन गरी डिडिसीलाई बिक्री गर्दै आइरहेको छ । डिडिसीले बक्यौता रकम भुक्तानी नगर्दा दुध उत्पादक किसान पेसाबाटै विस्थापित हुने अवस्थामा पुगेको दुध उत्पादक कृषकको गुनासो छ ।

डिडिसीबाट भुक्तानी नपाउँदा ती सहकारीले किसानलाई भुक्तानी दिन पाएका छैनन् । पछिल्लो साउन महिनाको समेत संस्थानले सहकारी संस्थालाई भुक्तानी गरेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्