झापा,भदौ २० । पूर्वको चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटारमा स्काई वाकले पर्यटकलाई आकर्षित गरेको छ । स्काई वाक आन्तरिक एवं बाह्य पर्यटकका लागि गन्तव्य बन्न थालेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारलाई साहसिक पर्यटनको केन्द्र बनाउन चाल्र्स पोइन्टमा स्काई वाक टावर सञ्चालनमा ल्याइएको हो ।

नेपालमै नयाँ र साहसिक गन्तव्यमा मनोरञ्जन लिन अहिले दैनिक तीन सय र शनिबार दुई हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने गरेका छन् । स्काई वाक सञ्चालनमा आएपछि भेडेटारमा स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए । डेढ महिनाको अवधिमा करिब २२ हजारभन्दा बढीले स्काई वाकको मनोरञ्जन लिएको उनको दाबी छ । कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन स्काई वाकले सहयोग गरेको उनको भनाइ छ ।

११ रोपनीमा रहेको स्काई वाकको लम्बाइ ४१ मिटर, चौडाइ दुई मिटर र १८.५ मिटर अग्लो टावर रहेको छ । स्काई वाकबाट पूर्वका १४ जिल्लाका विभिन्न ठाउँ नियाल्न सकिन्छ । चार वर्षअघिदेखि निर्माण थालिएको स्काई वाक प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरेको हो । स्काई वाकको आम्दानीबाट साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका र प्रदेश सरकारले लिने राजस्वको सहमतिपछि सञ्चालनमा ल्याइएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए ।

स्काई वाक परियोजनाले प्रत्यक्ष र अप्रत्यक्ष गरी १२० भन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने अनुमान छ । यसले स्थानीय अर्थतन्त्रलाई गति दिनुका साथै भेडेटार क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । स्काई वाक सञ्चालनमा आएपछि पर्यटकको चाप बढेको व्यवसायी विष्णुराज श्रेष्ठले बताए । यो सञ्चालनमा आएपछि नेपालसहित भारतका विहार, पश्चिम बङ्गाल, सिक्किमलगायतका स्थानबाट आउने पर्यटक बढेको उनको भनाइ छ । स्काई वाकमा एक पटकमा २५ जनासम्म हिँड्न सकिन्छ । यहाँ हिँड्दा खुला आकाशमा हिँडे जस्तो अनुभव हुने भएकाले साहसिक पर्यटनका पारखीले यसमा मज्जा लिन सक्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्