झापा, भदौ २० । दमकमा भएको गौ हत्याको विरोधमा हिन्दुवादी संघ संगठनहरुले आज साँझ दमकमा राँके जुलुस निकालेका छन् ।

गौ हत्या भएपछि आन्दोलित बनेका हिन्दुवादी संगठनहरुले गौ हत्याजस्तो जघन्य आपराधिक कार्यमा संलग्न व्यक्तिको खोजी गरी सार्वजनिक गर्न र कारवाहीको दायरामा ल्याउन माग गर्दै विभिन्न विरोध कार्यक्रमहरु गरिरहेका छन् । यसक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी र सो सम्बद्ध संगठनले साँझ ६ बजे दमकको गोरखा डिपार्टमेन्ट अगाडि राँके जुलुस निकालेका हुन् ।

मंगलवार राति दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको छ ।

सो घटनाको विरोधमा दमक नगरपालिका , राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समिति , नेकपा एमाले दमक नगर कमिटी , ब्राह्मण समाज नेपाल जिल्ला समिति झापाले प्रेस विज्ञप्ति जारी गरी समाजलाई आतंकित पारी मुठभेडतर्फ लैजान उद्धत गर्ने त्यस्ता तत्वहरुलाई सुक्ष्म अध्ययन गरी हदैसम्मको कार्वाही गर्न स्थानीय प्रहरी प्रशासनसंग माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्