झापा, भदौ २२ । आज गणेश चतुर्थी । गणेश चौथीका दिन चोरे पनि पाप र दोष लाग्दैन भन्ने गरिन्छ ।

यही सुनेको भरमा चोरी गर्न राति गाउँ टोलमा हिँड्ने र चोरेर रमाइलो मान्ने प्रचलन छ । चोरी गर्ने भनिएपछि छिमेकीका कुखुरा, काँक्रो, फलफूल, खसीबाख्रा, हाँस, परेवा जेजे भेटिन्छ, त्यो मनोरञ्जनको हिसाबले चोर्ने वा त्यसमा क्षति गर्ने नेपाली समाजमा गलत प्रचलन अझै कायम छ । केवल राति जाने र चोर्नेमात्र दिमागमा लिएर प्रायः युवा पुस्ता हिँड्ने गर्दछन् ।

यही गलत प्रचलनका कारण झापामा पनि केही नराम्रा घटनाहरु भएका छन् । गणेश चौथीका दिन चोरी र बिगार गर्नेलाई कानुनले छुट नदिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । त्यस्ता गलत प्रचलनलाई छोड्दै जानुपर्ने भन्दै उनले गणेश चौथीका दिन चोरेपनि कानुनको नजरमा ऊ दोषी ठहरिने बताए । सुनेको र भनेको भरमा त्यस्ता क्रियाकलाप नगर्न उनले अनुरोध गरेका छन् ।

केही वर्षअघि गणेश चौथीको बहानामा मकवानपुरको मनहरी गाउँपालिका ७, रमन्टारमा व्यावसायिक मौरीपालनमा क्षति पुर्याइएको थियो । धेरै क्षति भएपछि उद्योग सञ्चालक गुणराज लामाले संलग्नलाई कारबाही माग गर्दै प्रहरीमा निवेदन दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्