भद्रपुर, भदौ २२ । गणेश चतुर्थी पर्व सदरमुकाम भद्रपुरमा धुमधामका साथ मनाइएको छ ।

भद्रपुर ८ स्थित भद्रसिद्धि विनायक गणेश मन्दिरमा प्रातःकालीन पूजा–अर्चना तथा सन्ध्याकालीन भजन–आरतीका साथ यस वर्षको गणेश चतुर्थी पर्व धुमधामका साथ मनाइएको हो । मन्दिरमा विहानैदेखि भगवान गणेशको पूजाआजाका लागि भक्तजनको भीड लागेको थियो भने साँझ मन्दिर परिसरमा भजन कलाकारहरुको प्रस्तुति रहेकोे मन्दिर समितिका अध्यक्ष सुशिल अग्रवालले जानकारी दिए । भगवान श्रीगणेशको पूजा–आराधना र भजन सन्ध्यामा सहभागिताका लागि सीमावर्ती भारतीय क्षेत्रबाट समेत उल्लेख्य संख्यामा भक्तजनो आगमन भएको अध्यक्ष अग्रवालले बताए ।

गणेश चतुर्थी पर्व भव्यरुपमा मनाउने गरी मन्दिर परिसरलाई आकर्षक पण्डाल र झिलिमिली बत्तीले सजाइएको थियो । सो मन्दिरमा हरेक वर्ष यसरी नै धुमधामका साथ गणेश चतुर्थी पर्व मनाइँदै आएको अध्यक्ष अग्रवालले बताए ।

भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत, विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने गर्दछन् । सनातनीहरूले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्छन् भने विद्या, बुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशजीलाई नै मान्ने गर्दछन् ।

गणेश चतुर्थीमा गरिएको भगवान गणेशजीको पूजा, निष्ठा, व्रत उपासना र तपको प्रभावद्वारा गणपति भगवानको आशीर्वाद र जीवनमा सुख, शान्ति, र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्