झापा, भदौ २३ । कोशी प्रदेशको झापामा पहिलो पटक मेडिकल शिक्षाको पढाइ हुने भएको छ ।

बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा झापामै पहिलो पटक मेडिकल शिक्षाको पढाइ हुने भएको हो ।

चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार कोशी प्रदेशको झापा, लुम्बिनी प्रदेशको दाङ, मधेशको जनकपुरमा पहिलो पटक मेडिकल शिक्षाको पढाइ हुने भएको छ । आयोगले सरकारी तबरमा सञ्चालित तीन स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक निजी मेडिकल कलेजलाई एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्यापन गराउन सिट निर्धारण गरेको हो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको सिट निर्धारण गरिएको हो । योसँगै अब सरकारी मेडिकल कलेज ६ प्रदेशमा पुगेका छन् ।

आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा पनि सिट निर्धारण भएको छ । यी चार शिक्षण संस्थामा सन् २०२५ ब्याचदेखि चिकित्सा शिक्षामा एमबीबीएसलगायत स्नातक तह पठनपाठन गराउन आयोगले सिट निर्धारण गरेको हो । पहिलो चरणमा यी शिक्षण संस्थामा एमबीबीएसतर्फ ५०÷५० सिट निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्