झापा, भदौ २३ । पुरानो बासस्थान रहेको इलामको रोङ गाउँपालिकामा गिद्धको शालिक निर्माण गरिएको छ ।
सोह्रौ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण तथा सचेतना दिवसको अवसर पारेर करसोङ पदमार्गमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो र उपाध्यक्ष विष्णमाया खवासले गिद्धको शालिक अनावरण गरेका छन् । शालिक निर्माणको लागि युएनडीपीले समेत लगानी गरेको थियो । फाइबरको शालिक निर्माण गर्न १ लाख ६० हजार रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष प्रकाश राईले जानकारी दिए ।
उनका अनुसार शालिक राख्नका लागि मुडा बनाउन करिब १ लाख रुपैयाँ खर्च भएको थियो । शालिक मेची राजमार्गबाट करिब १ किलोमिटर ४ सय मिटर दूरीमा निर्माण गरिएको छ । विशेषगरी गिद्धको पुरानो बासस्थान भएको क्षेत्र भएकाले पहिचानको रुपमा स्थापित गराउन शालिक निर्माण गरिएको निर्माण समितिका अध्यक्ष राईले जानकारी दिए ।
करसोङ पदमार्गमा पर्ने सलकपुर, जिर्मलेलगायतका क्षेत्रमा गिद्धको बासस्थान समेत रहेको छ । दुई दशक अघिसम्म खोला र वन क्षेत्रमा गिद्धका बथान प्रशस्त पाइने गरेको थियो । अहिले चुरे क्षेत्रमा केही गिद्ध मात्र भेटिएका छन् । बासस्थानका रुपमा तराईमा रहेका अग्ला सिमलका रुख मासिँदा र आहाराको रुपमा रहेका मरेका पशुमा किटनाशक विषादी मिसिएका कारण गिद्धको अस्तित्व सङ्कटमा परेको छ ।
गिद्ध संरक्षणको सन्देश दिनका लागि शालिक निर्माण गरिएको गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिए ।