विनोद सापकोटा,
झापा ।दुर्गा नेम्बाङ शिवसताक्षी नगरको हकमा एउटा चर्चित नाम हो । उनी न सरकारका ठुलो पदको कर्मचारी हुन् न त राजनीतिक दलको नेता । न त ‘सेलिब्रेटी’ नै हुन् । बुढापाका र युवा पुस्ताले रुचाएका नेम्बाङ स्थानीय वडा नम्बर १ धरमपुरका स्थानीय बासिन्दा हुन् ।
पछिल्ला केही वर्षदेखि राजनीतिमा सक्रिय रूपमा देखापरेका नेम्बाङले स्थानीय तहको दुईवटा निर्वाचनमा पराजित हुनु पर्यो । वडा नम्बर १ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नेम्बाङले ०७४ सालमा नेकपा एमालेसँग तीन अंकले पराजित हुनुपर्यो । यस्तै २०७९ सालको निर्वाचनमा पनि उनले एक अंक तल झारेर नेकपा एमालेसँगै दुई अंकले पराजित हुनुपर्यो ।
निर्वाचनमा पराजित भएको पीडा उनलाई एकरति पनि छैन । वडाको विकास निर्माणमा उनी निर्वाचित भएका जनप्रतिनिधिभन्दा बढी तल्लिन छन् । पुलपुलेसा, बाटाघाटा, मठमन्दिर, विद्यालयको पूर्वाधार विकास, शैक्षिक गुणस्तरका लागि नयाँ योजना, खानेपानी, विद्युत विस्तारमा उनको महत्वपूर्ण भूमिका रहेको वडाका स्थानीय बताउँछन्।
वडाको विकासका लागि उनी जति सक्रिय छन् ,त्यति हालका जनप्रतिनिधि पनि नभएको वडाबासी बताउँछन् । स्थानीय विक्रम राईले भने ‘राजनीतिक दलबाट पाउने टिकटमा उम्मेदवार गतिलो भएपनि साना दल भनेर मत दिएनन् । दुर्गा नेम्बाङले निर्वाचनमा पराजित हुनुपर्ने मुख्य कारण पनि मुख्य यही नै हो ।’ उनले नेम्वाङ पराजित नभएर उनी आवद्ध दल पराजित भएको तर्क गरे । तर, उनले वडामा संचालनमा आएका करोडौँका योजनालाई हेर्ने हो भने नेम्वाङको सक्रियता कति छ भन्ने कुराको सहजै मापन गर्न सकिने बताए । वडामा जति पनि विकास निर्माणका आयोजना सम्पन्न वा संचालनमा छन्, ती सबै नेम्वाङको पहल र सक्रियतामा भएका हुन् ।
नेम्वाङ चलचित्रकर्मी पनि हुन् । उनीसंग नेपाल र भारतका केही दिग्गज चलचित्रको निर्देशन गरेको अनुभवसमेत छ । नेपाल चलचित्र विकास बोर्डको सदस्य समेत बनेका नेम्वाङलाई राजनीतिक दलका नेताले पनि उत्तिकै सहानुभूति दिन्छन् । चाहे उनी आवद्ध दल होस् वा इतरको दल नै किन नहोस् । ‘झापाबाट दुर्गा नेम्वाङले तपाईलाई पर्खिरहनुभएको छ’ भन्ने सुईको पाउनेवित्तिकै उनी मन्त्री र मन्त्रालयका सचिवको भेटघाट र कुराकानीका लागि प्राथमिकतामा पर्ने गरेका छन् ।
नेम्वाङले वडामा ल्याएका योजना, उनको गतिविधि र हाउभाउ हेर्दा स्थानीय तहका प्रमुखको भन्दा कम छैन । केन्द्र र प्रदेश सरकारका योजना ल्याउनेमा उनी नगरमै पहिलो हुन् । स्थानीय भन्छन् ‘नगरका कुनै वडाको विकास जनचाहनाअनुसार भएको छ भने त्यो वडा नम्बर १ र ६ हो ।’ यी दुई वडामा करोडौ रुपैयाँका योजना संचालित छन् । वडा नम्बर १ का लागि दुर्गा नेम्वाङ र वडा नम्बर ६ का लागि वडा अध्यक्ष मनोज खुलाल ‘डायनामिक लिडर’ हुन् ।
अब २०८४ सालको स्थानीय तहको निर्वाचनमा पुनः एकपटक वडा अध्यक्ष पदमा निर्वाचन लड्ने उनको लक्ष्य छ । ‘वडावासीको मन जित्नसके मत पाउँछु । मन जित्न सकेको रहेनछु भने मत पाउँदिन,’ उनले भने ।
वडामा युवा पुस्तालाई समेट्न पछिल्लो पटक उनले एउटा अभियान सञ्चालन गरे । जुन अभियानले शनिबार सार्थकता पायो । उनले लागूऔषध कारोबार वा सेवनमा फसेका युवा पुस्तालाई खेलकुदका सामग्री वितरण गरेर नयाँ आयाम दिए । खेलकुदबाट मानिसको एकाग्रता परिवर्तन गर्न सकिने उनले ठानेका छन् । युवालाई खेल्न दिनु अथवा खेलाउनु कुलतबाट जोगाउने पहिलो उपाय भएको उनले बताए ।
वडाका १६–४० उमेर समूहका युवालाई नेम्बाङले २३ थान फुटबल, ८ थान भलिबल, ४ थान भलिबलको नेट, २ सिट किप्पर ग्लोब, ६८ थान जर्सी, २ थान पोलको नेट र र्२ थान कर्कसहितको ब्याडमिन्टन प्रदान गरे । करिब दुई लाखबढीको यी सामग्री खरिदका लागि न त उनले सरकारको गुहार मागे, न आन्तरिक स्रोत नै खर्च गरे ।
सामाजिक अभियन्ता नेम्वाङलाई माया गर्ने देश विदेशमा रहेका नेपाली युवा पुस्ताले आर्थिक सहयोग गरे । त्यही सहयोगले उनले खेल सामग्री खरिद गरेर युवालाई वितरण गरे ।
खेल सामग्री वितरण गर्न नेम्बाङले कोशी प्रदेशका पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी मगर, प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङलाई आफ्नै वडामा बोलाए । करिब ३०० को उपस्थितिमा नेम्वाङ एक्लैले आयोजना गरेको यो कार्यक्रम अन्य औपचारिक कार्यक्रमभन्दा असामान्य थियो । सबै उमेर समूहका वडाका बासिन्दा कार्यक्रममा आएर कार्यक्रमका भीआइपीले बोलेका कुरा ध्यान दिएर सुने ।