बिरुवा रोपेकै दिन जाली चोरी
बिर्तामोड , भदौ २५ ।बिर्तामोड नगरपालिकाको ४ नं वडा कार्यालयले गत वर्ष भद्रपुर रोडको दुवैतर्फ ३८४ वटा फूलका बिरुवा रोप्यो । स्याहार नहुँदा प्रायः सबै नासिएर गए ।
मुश्किलले २५ वटा जति मात्र बाँचेका छन् । बिरुवा रोपेर यतिकै छोडिदिने प्रवृतिका कारण बेस्याहार भएर ती बिरुवा मासिएका हुन् । बाटामा हिड्ने बटुवाले लातले हानेर टोकरी लडाउँदा पनि , जरैदेखि उखेलेर लाँदा पनि , फूलको बिरुवालाई चुँडाएर फ्याल्दा पनि हेर्ने कोही भएन ।
वडा कार्यालयले रोपेको बिरुवा सबैको साझा हो भन्ने सोचाई नै नपाएको वडाध्यक्ष राहुल शर्माले बताए । व्यवसायीहरुको पसल अगाडि रोपिएको बिरुवा हेरचाह गर्ने मुख्य दायित्व उनीहरुको भएपनि बिर्तामोडका व्यवसायीहरुमा त्यस्तो सचेतना नपाइएको उनले अनुभव सुनाए । ‘व्यवसायीहरुले आफ्नो पसलमात्र हेर्छन्, बाटो हेर्दैनन् ’ उनले भने, नब्बे प्रतिशत व्यवसायीहरुले आफ्नो पसलअगाडि रोपिएको बिरुवालाई बेवास्ता गर्दा नासिएर गयो । ’ बजरंग मेडिकल छेउछाउका केही व्यवसायीहरुले भने आफैले बिरुवा रोपेर हुर्काएको उनको भनाई छ ।
त्यस्तै बिर्तामोडको ३ नं वडा कार्यालयले पनि रोपेको बिरुवाको अवस्था पनि लगभग उस्तै छ । हरित वडा बनाउने भन्दै ३ नं वडा कार्यालयले गत वर्ष करिव हजार वटा फूलका बिरुवा रोपेको थियो । त्यसमध्ये धेरै मासिए । मासिएको ठाउँमा सयवटा फूलका बिरुवा थप रोपेको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । ३ नं वडा कार्यालयले धौला पुलतर्फ ६० , मेची आँखा अस्पतालदेखि साई मन्दिरसम्म ४ सय , विराटपोखरीमा १३० वटा बिरुवा रोपेको थियो । त्यस्तै भित्री सडकमा पनि बिरुवा रोपिएको वडाध्यक्ष बुढाथोकीले बताए । रोप्न सजिलो भएको तर, हुर्काउन गाह्रो रहेको उनले सुनाए ।
हिजो मात्र बिर्तामोड नगरपालिकाको आयोजनामा सडकको दुवैतर्फ फूलका ४ सयवटा बिरुवा रोपिएको छ ।तर, ती बिरुवाहरुलाई हुर्काउन गाह्रो देखिएको छ । सडकको बीचमा रहेको डिभाइडरमा आवतजावत नहुने भएकाले त्यहाँ रहेका बिरुवालाई हुर्काउन ठूलो समस्या देखिएन । तर, सडकको पेटीमा रोपिएका बिरुवा हुर्काउन चुनौती छ । भद्रपुर रोडमा हिजो रोपिएको बिरुवाको जाली गएराति चोरी भएको स्थानीय व्यवसायी विनोद तिम्सिनाले बताए ।
स्थानीय व्यवसायीसंगै जनप्रतिनिधि , टोल विकास संस्था ,नगर प्रहरी , सामाजिक संघ संस्थाका प्रतिनिधि लाग्दा मात्र संभव देखिने बिर्तामोड ४ का वडाध्यक्ष शर्मा बताउँछन् । ‘पसल अगाडि फुलेको फूलको बिरुवाबाट आनन्द लिने त्यहीको व्यवसायीले हो , फूल टिप्ने उनीहरुले हो , अक्सिजन लिने पनि उनीहरु नै हुन् ’ वडाध्यक्ष शर्माले भने,‘ त्यसकारण अब व्यवसायीहरुमा बिरुवा जोगाउने चेत आउनुपर्यो । ’
बिर्तामोडलाई हरित नगर बनाउने उद्धेश्यकासाथ नगरपालिका र वडा कार्यालयहरुले व्युटिफिकेसनमा लाखौ रुपैयाँ खर्च गर्दै आएका छन् ।