शिवगञ्ज, भदौ २६ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नारासाथ एक युवा पाँच बिरुवा अभियानअन्तर्गत मङ्गलबार शिवसताक्षी नगरपालिका वडा नम्बर ४ को एक सामुदायिक विद्यालयमा विभिन्न प्रजातिका बिरुवा रोपेको छ।

पाथीभरा आधारभूत विद्यालयको प्राङ्गणमा सिरिस प्रजातिका विभिन्न बिरुवा रोपिएको हो। राष्ट्रिय युवा संघ नेपालकी स्थायी कमिटी सदस्य निशा लिम्बूले बृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन्। कार्यक्रममा नेकपा एमाले झापाका सचिवालय सदस्य सिकिन पासवान, नेकपा एमाले शिवसताक्षीका नगर अध्यक्ष मेदनी दङ्गाल, उपाध्यक्ष विष्णु प्रसाई, सचिव लक्ष्मी गुरागाईं, उपसचिव कोपिला चौलागाईं, नगर सदस्य ढाकापसाद अधिकारीलगायतले रोपेको बिरुवा सो विद्यालयमा अध्ययन गर्ने कक्षा ६ ७ र ८ का विद्यार्थीले हेरचाह गर्ने बताए ।

विद्यार्थीले भने, ’हाम्रो विद्यालयको प्राङ्गणमा रोपेको बिरुवाको हामी संरक्षण गर्छौं।’विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले आदिवासी जनजाति समुदायका विद्यार्थी अध्ययन गर्ने यो विद्यालय गुणस्तरका हिसाबले अब्बल रहेपनि भौतिक पूर्वाधारका हिसाबले पछि परेको बताए । समुदायद्वारा सञ्चालित यस्ता संस्थामा समाजका हरतरहका मानिसहरूबाट रचनात्मक सहयोगको अपेक्षा गरिएको उनले बताए ।

यो अभियानअन्तर्गत देशैभर ५ लाख बिरुवा रोप्ने कार्यक्रम लगभग सम्पन्न भएको राष्ट्रिय युवा संघ नेपालकी स्थायी कमिटी सदस्य लिम्बूले बताइन् ।

राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगरका शिवराज राईले स्वागत गरेको कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष धनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो। कार्यक्रम नेकपा एमाले वडा नम्बर ४ का वडा सचिव जितेन्द्र शाहले सहजीकरण गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्