इलाम, भदौ २७ । इलाम नगरपालिका देशकै उत्कृष्ट भएर पुरस्कृत भएको छ ।

इलाम नगरपालिका विभिन्न सूचकमा अब्बल ठहरिँदै पुरस्कृत भएको हो । यो नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार कोशी प्रदेशकै उत्कृष्ट ठहरिएको छ । त्यस्तै देशैभरका स्थानीय तहमध्ये पाँचौँ भएको छ ।साथै स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा नेपालकै पहिलो भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०७९–०८० को मूल्याङ्कनमा ९९ प्रतिशत सूचकांकसहित इलाम नगर पहिलो भएको छ । जसमा योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन लगायतका सूचकमा इलाम नगरपालिका उत्कृष्ट ठहरिएको छ । इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले जनप्रतिनिधि र कर्मचारीको साझा प्रयासले यो सम्भव भएको बताए ।
विभिन्न सूचकमा उत्कृष्ट भएको भन्दै इलाम नगरपालिका र नगरप्रमुख केदार थापालाई सम्मान गरिएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिअन्तर्गतको स्थानीय तह समन्वय विभागले बिहीवार काठमाण्डौमा आयोजना गरेको एक समारोहबिच इलाम नगरपालिका र नगरप्रमुख थापालाई सम्मान गरेको हो ।
नेपाली काँग्रेसका तर्फबाट टिकट पाएर निर्वाचित भएको जनप्रतिनिधिले उत्कृष्ट काम गरेको भन्दै काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले इलाम नगरपालिका र नगरप्रमुख थापालाई सम्मान गरेका थिए । इलाम नगरपालिकासहित उत्कृष्ट भएका स्थानीय तहलाई सो कार्यक्रममा सम्मान गरिएको थियो ।