शिवसताक्षी, भदौ २७ । शिवसताक्षी नगरपालिका वडा नं ३ ले महिलाहरूको हरितालिका तीजका लागि छुट्याएको रकमले वडाका विपन्नलाई ट्युवेल वितरण गर्ने भएको छ ।

चालु आर्थिक वर्षको वडा सिलिङ बजेटबाट विनियोजित ५० हजार रुपैयाँले वडाका चार टोलका पाँच विपन्न परिवारलाई पिउने पानीका लागि ट्युवेल वितरण गर्न लागिएको वडा अध्यक्ष भाष्कर न्यौपानेले बताए । वडा अध्यक्षको यो योजनालाई वडाका अधिकांश महिलाले समर्थन जनाएको कार्यपालिका सदस्यसमेत रहेकी वडा सदस्य मुना तामाङले बताइन् ।
‘बुधवार वडाका चारै टोलका महिलासहितको बैठक वडामा बसेको थियो,’ वडा सदस्य तामाङले भनिन्,‘ सबै महिलाको सहमतिमा वडाले दिने भनेको ५० हजार रुपैयाँले विपन्नलाई पिउने पानीको लागि ट्युवेल खरिद गरेर जडान गरिदिने निर्णय भयो ।’
वडा अध्यक्षलगायत वडा कार्यपालिकाका अन्य सदस्यले ल्याएका हरेक योजनालाई वडाका सरोकारवाला निकाय वा व्यक्तिले यसरी नै साथ दिने गरेका छन् । ‘महिलाहरूका लागि छुट्याइएको ५० हजार रूपैयाँ बराबरको कार्यक्रमले एकदिन नाचगान गरेर रमाइलो गर्दै तीज मनाउन त सकिन्थ्यो होला । तर त्यो कार्यक्रमले विपन्न परिवारका महिलालाई छुँदैन थियो,’ मुनाले भनिन्, ‘यो बजेटलाई हामीले गरिबको पहुँचसम्म पु¥याउनका लागि ट्युवेल वितरण गर्न लागेका हौँ ।’
वडामा चारवटा टोल छन् । तिनै टोलका विपन्न पाँच परिवारका लागि ट्युवेल जडान गरिदिन लागिएको उनले बताइन् । यो कार्यक्रमबाट वडाका पाँच विपन्न परिवारले कम्तीमा १० वर्ष प्रत्यक्ष लाभ लिन सक्नेछन् । एउटा ट्युवेल सार्वजनिक ठाउँमा गाड्न सकिने वडा अध्यक्ष न्यौपानले बताए ।वडामा खानेपानीका लागि कुनै पनि आयोजना संचालनमा छैनन् । वडाबासीले पिउने पानीका लागि ट्युवेल, इनार र कुँवाकै भर पर्नुपर्छ । वडा अध्यक्ष न्यौपानेका अनुसार पहिलो पटक प्रदेश सरकारले खानेपानीका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकमबाट संचालन हुने योजनाले पाराबारी बजार र आसपासका बस्तीका बासिन्दासंग पिउने पानीको पहुँच पुग्ने छ ।

वडाले मात्र होइन, नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघले पनि यस वर्षको तीज कार्यक्रम फरक ढङ्गले मनाउने निधो गरेको थियो ।
तीज सकिएको एक साता वितेपनि एमाले निकट महिलाले नाचगान गरेर, आफ्नो रीतिरिवाज परम्परा अनुसार तीज मनाउने कार्यक्रमलाई परिमार्जित गर्दै नगरका विपन्नको स्वास्थ्य बिमा गरेर तीज मनाउन लागिएको अध्यक्ष कोपिला मैनालीले बताइन् ।
‘यो कार्यक्रमका लागि स्थानीय तहको सहयोग छैन’ अखिल नेपाल महिला संघ शिवसताक्षी नगरकी अध्यक्ष मैनालीले भनिन् ‘हाम्रो कमिटीमा रहेका पदाधिकारी र सदस्य महिला कमरेडबाट स्वेच्छाले रकम सङ्कलन गर्ने र सोही संकलित रकमले विपन्नको स्वास्थ्य बीमा गरिदिने योजना हामीले बनाएका छौं ।’
शिवसताक्षी नगरमा ११ वटा वडा छन् । प्रत्येक वडाबाट एक विपन्न परिवारको स्वास्थ्य बीमा गरिने योजना महिला संघले बनाएको उनले बताइन् । नेकपा एमाले शिवसताक्षी नगरको पार्टीका हरेक वडा कमिटीबाट पनि आर्थिक सहयोग प्राप्त हुने अपेक्षा उनले गरेकी छन् ।
नेकपा एमाले शिवसताक्षी ११ का अध्यक्ष देवेन्द्र खरेलका अनुसार महिलाहरूको यो कार्यक्रमलाई पार्टीको वडा कमिटीले धेरथोर भएपनि सहयोग गर्ने योजना बनाएको छ ।