झापा, भदौ २७ । सभामुख देवराज घिमिरेले नेपालको पूर्वी पहाडमा उत्पादित अलैंची पाकिस्तान निर्यातका लागि छलफल सुरु गरेका छन् ।

सभामुखको कार्यकक्षमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीसँग भएको शिष्टाचार भेटमा सभामुख घिमिरेले पहाडमा उत्पादित अलैंची निर्यातका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
नेपालमा हाल १६ हजार हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ । नेपाली अलैंची पाकिस्तानमा निर्यात हुने भएपनि नगण्यमात्र रहेको सभामुखको भनाइ थियो । ‘नेपालमा उत्पादित अलैंची उच्च गुणस्तरको छ, तर पाकिस्तान निर्यात थोरैमात्रै हुन्छ,’ सभामुखले भने, ‘पाकिस्तान नेपालको कृषिजन्य उत्पादनको बजार हुन सक्छ ।’
जवाफमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले केही दिनभित्री नेपालबाट दुई कन्टेनर अलैंची पाकिस्तान जाने तयारीमा रहेको बताउँदै त्यसको प्रतिक्रियाका आधारमा थप लैजान सकिने बताए । उनले नेपालको चिया, जडिबुटी लगायतको माग पनि पाकिस्तानमा प्रशस्त रहेको बताए ।
अलैंची उत्पादन विश्वमा सबैभन्दा धेरै नेपालमा हुन्छ । तर, विश्व बजारमा नेपालको उत्पादन हिस्सा कम छ । कुल विश्व बजारको मागमा नेपालको निर्यात ८ अर्ब २७ करोडमा मात्र सीमित रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
नेपालका ६ प्रदेशका ५४ जिल्लामा अलैंची खेती हुन्छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन हुने गरेको छ ।
भेटमा सभामुख घिमिरेले दुई मुलुकबीचका व्यापारिक संयन्त्र लगायतको क्रियाशीलताले मात्रै व्यापारिक सम्बन्धलाई थप प्रभावकारी बनाउन सकिने धारणा राखे । ‘पर्यटन, ऊर्जा, व्यापार विकास लगायतका क्षेत्रमा पाकिस्तानले लगानी गर्न सक्दछ,’ सभामुखले भने, ‘नेपाल पाकिस्तानको लगानीलाई स्वागत गर्न तत्पर छ ।’
नेपाल विकास र आर्थिक क्षेत्रमा प्रगतितर्फ रहेको बताउँदै सभामुख घिमिरेले प्राविधिक शिक्षाका लागि पाकिस्तानको सहयोग अपेक्षित रहेको उल्लेख गरे । राष्ट्रसंघ लगायतका साझा मञ्चमा दुई मुलुक सँधै साथ साथ रहेको सभामुखको भनाइ थियो । उनले सिधा हवाई यातायातको सम्भाव्यताबारे छलफल गर्नुपर्नेमा जोड दिए ।
सभामुखले संसदीय मैत्री समूहमार्फत दुवै मुलुकले आफ्ना विकास, प्रविधि र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेल्न सक्ने बताए ।राजदूत हासमीले दुई मुलुकबीच गहिरो सम्बन्ध रहे पनि द्विपक्षीय र बहुपक्षीय मञ्चको फाइदा लिन नसकिएको धारणा राखे । उनले नेपाल र पाकिस्तान सार्कको संस्थापक राष्ट्र रहेकाले उक्त फोरमलाई आर्थिक विकासमा प्रयोग गर्न सकिने बताए ।
राजदूत हासमीले सिधा हवाई सम्बन्ध नभएको अवस्थामा विद्युतीय माध्यमबाट व्यापारिक गतिविधि सञ्चालन गर्न सकिने उल्लेख गरेका थिए ।