झापा,भदौ २९ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले ‘हिंसा’ शब्द सच्याउनुपर्ने बताएका छन् । एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गरेको उनको भनाइ छ ।
विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले ‘हिंसा’ शब्द प्रयोग गरेर एमालेले माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्न खोजेको बताएका हुन् । उनले त्यो कुरा नसच्याए संसदमा माओवादीको विरोध जारी रहने स्पष्ट पारेका छन् ।
संविधानको सशस्त्र संघर्ष सम्बन्धी व्याख्यामा माओवादी जनयुद्ध भनेर व्याख्यात्मक टिप्पणीमा राखिएको र सर्वदलीय सहमतिका आधारमा सबैको हस्ताक्षर भएको ‘डकुमेन्ट’ आफूले विपक्षी दलको नेताको हैसियतमा संसदमा पढेर सुनाएको दाहालले बताए । ‘अहिले एमाले नेतृत्वले हिंसा शब्द प्रयोग गरेर माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्ने गरेको छ । त्यो चैं उहाँहरु (एमाले)ले सच्याउनुपर्छ । नत्र हाम्रो विरोध जारी रहन्छ,’ उनले भने ।

उनले राजनीतिमा ‘एक्जिट’ भन्ने नहुने दाबी गरे । ‘सच्चा राजनीतिज्ञहरु बाँचुनजेल पनि राजनीति गरी नै राख्छन् । मरे पनि गर्छन् भन्ने छ ‘फिलोसोपी’ । मरेपछि पनि राजनीतिज्ञहरू मर्दैनन् । उनीहरुले राजनीति गरी नै राखेका हुन्छन् । राजनीतिमा ‘एक्जिट’ भन्ने वैज्ञानिक कुरा हैन,’ दाहाल भन्छन् ।

उनले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरामा आफ्नो कुनै सम्झौता नरहेको स्पष्ट पारेका छन् । भागमा न्यायाधीश पाएमा उपसभामुखलाई हटाउन सम्झौता गरेको भनेर कसैले भ्रम छर्ने र नियोजित रूपमा प्रचार गरेको हुनसक्ने उनको भनाइ छ ।

अहिलेको व्यवस्थाविरुद्ध दुर्गा प्रसाईंलगायतले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने भनेर गरेको कुरालाई आफूहरुले महत्व नदिएको उनले बताए । ‘हामी आफ्नै पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर लागेका छौं । सबै प्रदेशमा गएर पार्टीलाई केन्द्रित गर्ने प्रयास गरेका छौं । समाजवादी मोर्चा, वामपन्थी र लोकतन्त्रवादी पार्टीहरुसँग पनि कुराकानी चलिरहेको छ । व्यक्तिहरुका हकमा त्यति महत्व दिएका छैनौं । दिँदैनौं पनि,’ उनी भन्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्