झापा , भदौ ३० । मोरङको ग्रामथान गाउँपालिका –४ कटरीयाबाट प्रहरीले गएराति ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले राति ८ बजे छापा मारेको थियो । जुवाको खालबाट प्रहरीले १८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । कटहराको बाँसघारीभित्र लामो समयदेखि अवैध जुवा खाल चलिरहेको थियो । खालमा मधेस प्रदेशको महोत्तरी, कोशी प्रदेशकै धरान, दमक, दुहबी लगायतका स्थानमा घर भएकाहरू पनि जुवा खेल्न पुग्ने गरेका थिए । जुवा खेलिरहेका ग्रामथानका पूर्वअध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमध्ये शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । पक्राउ पर्ने अन्य व्यक्ति पनि प्रतिष्ठित र धनाढ्यहरु रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हरैँचा तथा बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले जुवा खालमा छापा हानेको थियो ।
प्रहरीले बा प्र.०१–०२०च९७३७, बा१५च ६७३०, बा१५च७२८१, बा१८च३७०२,बा……४८५०,बा१ज५९१६, बा१८च४५६५ नं को गाडी समेत नियन्त्रणमा लिएको छ । अर्जुन तुम्रुकको गाडी छोड्न प्रहरीलाई दबाब दिइरहेको बुझिएको छ ।



